वर्षाजन्य विपद्का कारण ललितपुरमा एकै परिवारका ४ जनासहित थप ६ जनाकाे शव फेला

प्रकाशित मिति: १५ आश्विन २०८१, मंगलवार ११:५०


काठमाडाैं, असाेज १५ ।
वर्षाजन्य विपद्का कारण ललितपुरमा मृत्यु भएका थप छ जनाको शव फेला परेको नेपाल प्रहरीले पुष्टि गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले आज मंगलबार दिएको जानकारीअनुसार विपत्तीको खोज तथा उद्धारका क्रममा सोमबारसम्म ३४ जनाको र आज बिहानसम्म ६ जना गरी हालसम्म ४० जनाको शव फेला परेको हो ।

फेला परेका शवमध्ये १७ जनाको शव पोष्टमार्टम भइ आफन्तले बुझेर लगेको सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले जानकारी गराए । “पाटन अस्पतालमा आएका शवमध्ये १७ जनाको शव पोष्टमार्टम भइ आफन्तले बुझेर लैजानुभएको छ, अरू फेला परेका शवलाई प्रहरीको सहयोग र समन्वयमा पोष्टमार्टमका लागि पाटन ल्याउने काम भइरहेको छ”, उनले भने ।

नेपाल प्रहरीले आज बिहान अद्यावधिक गरेको तथ्याङ्कअनुसार महाङ्काल गाउँपालिका वडा नं.-२ मानिखेल लक्ष्यबास बस्ने वर्ष ९ का आयुष स्याङ्तान, महाङ्काल-२ ठोस्ने खोला बस्ने एकै परिवारका वर्ष ४० की राममाया स्याङ्तान, निजका छोरा वर्ष १४ का अजय स्याङ्तान, अर्का छोरा वर्ष ११ का सुवास स्याङ्तान र छोरी वर्ष ९ की सलिना स्याङ्तानको शव फेला परेको छ ।

प्रहरी नायब उपरीक्षक अधिकारीकाअनुसार वर्षाजन्य विपद्मा परेर अझै १० जना बेपत्ता रहेका छन् । प्रहरीले अद्यावधिक गरेको तथ्याङ्कअनुसार महाङ्काल-३ गोटीखेल बस्ने ईश्वर तिमल्सिना, उनकी आमा र श्रीमती गोमा असोज १२ गतेबाट बेपत्ता छन् ।

त्यस्तै, रौतहट घर भई ललितपुर महानगरपालिका-१४ नखिपोट कान्तिपुर कोलोनी बस्ने वर्ष ५ का सेतु साह, ओखलढुङ्गा घर भइ ललितपुर बस्ने वर्ष ४० का देवराज कार्की, रौतहट गौर गाउँपालिका वडा नं.-६ घर भइ ललितपुर-१४ नखिपोट कान्तिपुर कोलोनी बस्ने वर्ष ३२ का बिकाउ साह बेपत्ता छन् ।

गोदावरी नगरपालिका-६ आनन्दवन अस्पतालमा काम गरी बस्ने वर्ष ३० का विवेक सिंह, बागमती गाउँपालिका-१ घुसेलका वर्ष ५० का केशव न्यौपाने, महाङ्काल वडा नं.-२ बस्ने वर्ष १२ की सञ्जिता स्याङ्तान, वर्ष ३५ का छविलाल स्याङ्तान र छविलालकी भाउजु (नाम नखुलेको)बेपत्ता रहेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

विद्युत् प्राधिकरण हाल कठिन अवस्थामा गुज्रिरहेकाे कार्यकारी निर्देशक शाक्यकाे भनाई

काठमाडाैं, जेठ ३० । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले.....