एमालेका एक सांसद्का छाेरा खनाल सहकारी ठगी प्रकरणमा पक्राउ

काठमाडाैं, कार्तिक ११ ।
सहकारी ठगी अभियाेगमा नेकपा एमालेका कोशी प्रदेश सांसद् राधाकृष्ण खनालका छोरा सुमन खनाल पक्राउ परेका छन् ।
उनलाई झापाको शिवसताक्षी नगरपालिका-३ स्थित उन्नति बचत तथा ऋण सहकारी संस्थामा ठगी गरेको अभियाेग लागेकाे छ । खनाल सोही सहकारीका अध्यक्षसमेत थिए । उनले बचतकर्ता र शेयर सदस्यको करिब १ करोड ३८ लाख ३६ हजार ७ सय ७० रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । पक्राउ परेका खनाल झापा क्षेत्र नम्बर-४ (क) बाट निर्वाचित एमालेका प्रदेश सभा सदस्य राधाकृष्ण खनालका छोरा हुन् ।
प्रहरीले उनलाई कार्तिक ५ गते घरबाटै पक्राउ गरिएको थियो । यद्यपि प्रहरीले उनी पक्राउ परेको सार्वजनिक गरेको थिएन । प्रदेश रजिस्टार कार्यालयमा उजुरी परेर त्यहाँबाट परिपत्र आएपछि सहकारीका अध्यक्ष खनाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । खनाललाई हाल जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखिएको र अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको जनाइएको छ ।
खनालले आर्थिक वर्ष २०७८/०७९ मा ७० हजार शेयर रकम हिनामिना गरेको शिवसताक्षी नगरपालिका-३ का वडाध्यक्ष भाष्कर न्यौपानेको नेतृत्वमा गठित समितिको प्रतिवेदनमा उल्लेख गरिएकाे छ । सञ्चालक समिति अध्यक्षले संस्था स्थापना भएदेखि नै संस्थाको नगद हिनामिना गरी व्यक्तिगत रूपमा चलाएको र उक्त रकममा संस्थाले ब्याज नपाएको हुँदा संस्थापक अध्यक्षले आर्थिक वर्ष २०७९/०८० को अन्त्यसम्ममा १ करोड ६२ लाख ६२ हजार ३ सय ६९ रुपैयाँ अनियमितता गरेको देखिएको उक्त प्रतिवेदनमा उल्लेख गरिएकाे छ ।
प्रतिक्रिया