रास्वपा कार्यालयमा भित्र बैठक, बाहिर धर्ना, भाेलि विराेध प्रदर्शन
काठमाडाैं, कार्तिक २४ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा अहिले जारी रहेकाे छ । आज शनिबार बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सुरु भएको बैठकमा समसामयिक राजनीतिक र स्थानीय तह उपनिर्वाचन परिचालनका विषयमा छलफल केन्द्रित भइरहेको बताइएको छ ।
यता, पार्टी सभापति रवि लामिछाने पक्राउ परेको लामो समय बितिसक्दा पनि पार्टीले कुनै ठोस निर्णय लिन नसकेको भन्दै रास्वपाका समर्थकहरू बाहिर दवाब दिन घण्टीघरमै पुगेका छन् । रास्वपा पार्टी कार्यालयमा अहिले प्ले-कार्डसहित समर्थक तथा कार्यकर्ता बसिरहेका छन् । उनीहरूले रविलाई न्याय, सहकारी पीडितको रकम फिर्ता र सबै भ्रष्टहरूलाई जेल नकोचेसम्म आन्दोलन जारी रहन्छ, आँटिला नेतालाई सलाम छ, डराउँनेलाई आँट दिन्छौँ, आफ्नै नेताहरूलाई नो नट अगेन भन्ने दिन नआओस् जस्ता नारासमेत लगाएका छन् ।
त्यस्तै, उनीहरूले कि संकटमा पार्टी सम्हाल कि ठाउँ छाड, रविको नाममा सांसद् र नेता भएकाहरू रविलाई संकट पर्दा पछि हट्नु धोखा हो, निर्णायक आन्दोलनको विकल्प छैन, पार्टी एकता देशको आवश्यकता, सबै हाम्रा नेता हौँ नेताजस्तै बन, कि भन रवि दोषी हो कि लड उसका लागि, समयले आन्दालने नयाँ नेतृत्व, नयाँ संविधान र नेपालीमा आशा दिनेछ, रविले नाम दिए रविलाई पर्दा साथ नदिने ? भन्ने नारासहितको प्ले-कार्ड बोकेका छन् ।
यसैबीच, रास्वपाले भाेलि आइतबार पोखरामा प्रदर्शन गर्ने भएको छ । पार्टी सभापति रवि लामिछाने पक्राउ परेको विरोधमा प्रदर्शन गरिरहेको रास्वपाले तिहार र छठ पर्वका कारण केही दिन प्रदर्शन स्थगित गरेको थियो ।
छठ सकिएलगत्तै पुनः प्रदर्शन जारी राख्ने भन्दै रास्वपाले आइतबार पोखरामा प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ । ‘राजनीतिक प्रतिशोधविरुद्धको ऐक्यबद्धताका लागि’ पोखरामा बिहान १० बजे प्रदर्शन गर्ने रास्वपाले जनाएको छ । प्रदर्शन पोखराको जिरो किलोबाट सुरु गर्ने भएकाे छ ।
प्रतिक्रिया