२०५६ साल यता कक्षा ११ र १२ फेल भएका परीक्षार्थीलाई पुनः माैका परीक्षा (सूचनासहित)
काठमाडाैं, कार्तिक २५ ।
कक्षा ११ र १२ मा फेल भएर आफ्नाे पढाइ पूरा गर्न नसकेका २०५६ साल यताका परीक्षार्थीले मौका परीक्षा दिन पाउने भएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले एक सूचना प्रकाशन गर्दै २५ वर्षअघि ११ र १२ मा भर्ना भई फेल भएका परीक्षार्थीलाई अन्तिम मौका स्वरूप एकपटक परीक्षा दिन पाउने व्यवस्था गरिएको जानकारी दिएको छ ।
सूचनाअनुसार रजिस्ट्रेसन नम्बरको सुरुको अंक ५६ वा सोभन्दा बढी र ७७ वा सोभन्दा कम भएका परीक्षार्थीहरू सहभागी हुन पाउने छन् । यसर्थ २०५६ सालदेखि २०७६ सालभित्र भर्ना भई फेल भएका परीक्षार्थीहरू सहभागी हुन पाउने छन् ।
अंक प्रणालीमा कुनै पनि विषयमा अनुत्तीर्ण भएका तथा अक्षरांकन पद्धतिमा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीहरू सहभागी हुन पाउने छन् ।
प्रयोगात्मकतर्फ फेल भएका विद्यार्थीहरू पनि सहभागी हुन पाउने बोर्डले जनाएको छ । ११ र १२ दुबैमा फेल भएका परीक्षार्थीहरूले पनि परीक्षामा सहभागी हुनका लागि फाराम भर्न सक्नेछन् ।
त्यस्ता विद्यार्थीहरूले सम्बन्धित विद्यालयबाट मंसिर २७ गतेभित्र आवेदन फाराम भरिसक्नु पर्नेछ । त्यस्तै त्यतिबेला सञ्चालनमा रहेका तर हाल खारेज भइसकेका वा सञ्चालनमा नरहेका विद्यालयका विद्यार्थीहरूले पनि बोर्डमा सोझै सम्पर्क राखेर आवेदन फाराम बुझाउन सक्ने व्यवस्थासमेत गरेका छन् ।
परीक्षा केन्द्र र मिति आवेदन फारामको संख्याअनुसार पछि तोकिने पनि बोर्डले जनाएको छ ।
प्रतिक्रिया