मानव तस्करीमा मुछिएका निवर्तमान कानूनमन्त्री अधिकारी पक्राउ
काठमाडाैं, कार्तिक २५ ।
कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानूनमन्त्री लिला बल्लभ अधिकारी विराटनगरबाट पक्राउ परेका छन् । मानव तस्करको आरोपमा उनीमाथि अनुसन्धान गर्न आज आइतबार जिल्ला अदालतबाट अनुमति पाएपछि प्रहरीले पक्राउ गरेको हो । श्रोतकाअनुसार अधिकारीलाई केहीबेरमा काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीको भनाई छ ।
अधिकारीको विराटनगर महानगरपालिका-२ स्थित घरमा सादा पोसाकका प्रहरीले आइतबार बिहानैदेखि घेरा हालेका थिए । जिल्ला प्रहरी कार्यालय मोरङ र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएका सादा पोसाकका प्रहरीले बिहानैदेखि घरमा घेरा हालेका थिए ।
मन्त्री अधिकारीले आफूविरुद्ध लागेको आरोपको अनुसन्धानमा प्रहरीलाई सहयोग गर्ने बताउँदै आएका छन् । उनी आजै दिउँसो यति एयरलाइन्सको जहाजमार्फत् काठमाडौं जाने तयारीमा थिए ।
जापान भ्रमणमा जाने नाममा मानव तस्करी गरेको आरोप अधिकारीमाथि लागेको छ । तर, अहिलेसम्म विकसित घटनाक्रमले भने मानव तस्करीको जालोमा अधिकारी अन्जानमा परेको देखिन्छ । उनले जापानबाटै प्रहरी अधिकारीलाई सम्पर्क गरेर घटनाको जानकारी दिएका थिए ।
कोशी प्रदेश सभा सदस्यसमेत रहेका अधिकारीलाई अनुसन्धानको दायरामा ल्याउन चौतर्फी दवाब परेको थियो । यद्यपि, उनले आफू अनुसन्धानमा सहयोग गर्न सदैव तयार रहेको बताउँदै आएका छन् ।
नक्कली परिचय पत्र बनाई संगठित गिरोहलाई रकम बुझाएर गत साता जापान पुगेका तीन युवालाई जापानको अध्यागमनबाट फिर्ता गरिएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेर प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ । अधिकारी सहभागी हुने कार्यक्रममै हिँडेको भन्दै जापान पुगेका उनीहरूलाई उनले नै फिर्ता ल्याएर नेपाल प्रहरीको जिम्मा लगाएका हुन् ।
शंकास्पद कागजातका कारण जापानबाट फर्काइएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अघिल्लो शनिबार आइपुगेका चारै जनालाई अध्यागमन कार्यालयले अनुसन्धानका लागि प्रहरीको जिम्मा लगाउने तयारी गरेको थियो । तर, यस घटनाको सूचना आफैँले पहिले प्रहरीलाई दिएको बताएपछि अधिकारीलाई छाडिएको थियो ।
नक्कली कागजात बनाएर जापान पुगेका रसुवाका कञ्चन देवकोटा खोटाङका दावा शेर्पा र जनक राईलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । तत्कालीन मन्त्री अधिकारी आर्ट्स काउन्सिल टोकियोले अक्टोबर २९ देखि नोभेम्बर ३ सम्मका लागि आयोजना गरिएको ‘कल्चर एट होट’ कार्यक्रममा भाग लिन भनेर जापान गएका थिए ।
अधिकारीले भने तीन जनालाई आफूले हङकङमा भेटेको र फिर्ता ल्याएर नेपाल प्रहरीको जिम्मा लगाएको बताउँदै आएका छन् । तीन जनामध्ये शेर्पासँग खोटाङको ऐँसेलुखर्क-२ को वडा सदस्यको नक्कली परिचय पत्र थियो भने देवकोटा र राईले कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको कर्मचारीको परिचय पत्र बोकेका थिए ।
कर्मचारीको नक्कली परिचय पत्रमा ‘निमित्त कार्यालय प्रमुख’ का रूपमा अधिकारीकै हस्ताक्षर छ । नक्कली परिचय पत्र प्रहरीले बरामद गरिसकेको छ । परिचय पत्रमा रहेको हस्ताक्षर किर्ते गरेर राखिएको अधिकारीको दाबी रहेको छ । तीन जनाको बयानका आधारमा प्रहरीले नुवाकोटको विदुरका जुगल रिजाल, दोलखाको जिरीका वीरबहादुर सुनुवार र धादिङको त्रिपुरासुन्दरीका महेशविक्रम पाण्डेलाई पनि पक्राउ गरिसकेको छ ।
अधिकारी स्वयंले ‘आफू गिरोहको चंगुलमा परेर’ जापान गएको भन्दै गल्ती स्वीकार गरिसकेका छन् । गिरोहको चलखेलका विषयमा आफू हङकङ पुगेपछि मात्र थाहा पाएको र जापान पुगेपछि नेपाल प्रहरीलाई खबर गरेको उनको भनाई छ । आफूलाई प्रयोग गरेर मानव तस्करी भएको थाहा पाएपछि जापान पुगेर कार्यक्रममै सहभागी नभइकन अधिकारी फर्किएका थिए ।
उनले अनुसन्धानमा सहयोग गर्नका लागि भन्दै गत बुधबार कोशी प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्रीबाट राजीनामा दिएका थिए । सत्तारुढ नेकपा (एमाले) आबद्ध अधिकारी मोरङको निर्वाचन क्षेत्र नम्बर-२ (ख)बाट निर्वाचित प्रदेश सभा सदस्यसमेत हुन् । जापान भ्रमण विवादपछि उनले पार्टीको जिम्मेवारीबाट समेत आफूलाई हटाउन माग गरेर निवेदन दिएका थिए । पार्टीले उनलाई तत्कालका लागि साधारण सदस्यबाट समेत शनिबार निलम्बन गरिसकेको छ ।
प्रतिक्रिया