जनबहाः द्यः जात्रा चैत २३ गतेबाट सुरु हुँदै

प्रकाशित मिति: २० चैत्र २०८१, बिहीबार १८:४६


काठमाडाैं, चैत २१ ।
सेतो मच्छिन्द्रनाथको जात्रा यही चैत २३ गते शनिबारदेखि सुरु हुने भएकाे छ । स्थानीय भाषामा जनबहाः द्यः पनि भनिने यस देवतालाई बौद्धहरूले आर्यावलोकितेश्वर वा करुणामयको रूपमा पुज्ने गर्दछन् ।

हरेक वर्ष पौष शुक्ल पक्ष अष्टमीका दिन महास्नान गराई मनाउन सुरु गरिने जात्राको व्यवस्थापन यस वर्ष पनि जनबहाःद्यः रथ जात्रा व्यवस्थापन समितिले गरिरहेको छ ।

समितिले पछिल्लो १३ वर्षदेखि रथजात्राको व्यवस्थापन गरिरहेको छ । समितिकाअनुसार यस वर्ष जात्रा व्यवस्थापनका लागि विभिन्न २० वटा उपसमितिहरू गठन गरिएका छन् ।

रथ जात्रा व्यवस्थापन समितिका सचिव सुजिव बज्राचार्यले यस वर्ष रथजात्राको पहिलो दिन चैत २३ गते तीनधारा पाठशाला जमलबाट रथ तानेर असन पुर्‍याइने बताए ।

साथै चैत २४ गते रथलाई असनबाट हनुमानढोका पुर्‍याइनेछ भने चैत २५ गते हनुमानढोकाबाट लगन टोल पुर्‍याइनेछ ।

चैत २६ गते रथलाई तानेर आर्यावलोकितेश्वर (करुणामय) को आमा भनिने लगन टोलको डबलीको बीचमा रहेको रुखलाई तीनचोटी परिक्रमा गराइन्छ ।

चैत २७ गते लगन टोलबाट बेलुकीपख खटमा राखी आर्यावलोकितेश्वरलाई पुनः जनबहाःस्थित आफ्नै मन्दिरमा फर्काउने कार्यक्रम रहेको उनले बताए ।

उनकाअनुसार यस वर्ष असन पुर्‍याउने काम ‘याः न्याःयेकेगु’ सम्पन्न भएपछि बेलुकी दर्शनका लागि राष्ट्रपति रामचन्द्र पौडेल आउने तालिका रहेकाे छ । यस वर्ष पर्यटन बोर्डको संयोजनमा पहिलो दिन जमलमा विदेशी पर्यटकहरूलाई रथ जात्रा अवलोकन गराउने कार्यक्रम राखिएको छ ।

यस जात्रालाई काठमाडाैंको सबैभन्दा ठूलो रथ जात्राका रूपमा लिइन्छ । यो जात्राको समाप्तिसँगै देशका अरू भागहरूमा अन्य रथजात्राहरू सुरु हुने भएकाले यस जात्राको विशेष महत्त्व रहेकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र बैंकबाट 'क' वर्गको इजाजत पत्र प्राप्त संस्था प्रभु बैंक.....