नेपालद्वारा चौथो खेलमा थाइल्याण्ड १ सय ६ रनले पराजित
काठमाडाैं, कार्तिक २५ ।
युनाइटेड अरब इमिरेट्स (यूएई) मा जारी आइसीसी यू-१९ महिला टी-२० विश्वकप एशिया छनोटअन्तर्गत नेपाल आफ्नो चौथो खेलमा विजयी भएको छ ।
नेपालले आज आइतबारको चौथो खेलमा थाइल्याण्डलाई १ सय ६ रनले पराजित गरेको हो ।
नेपाल र थाइल्याण्डबीचको खेल आज दिउँसो सवा ३ बजे सुरु भएको थियो । नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन बनाएको थियो । १ सय ४० रनको लक्ष्य पछ्याएको थाइल्याण्डको पारी १६ ओभरमा ३३ रनमा समेटियो ।
ब्याटिङ गर्ने क्रममा नेपालका लागि साना प्रविनले ५३, सावित्री धामीले २८ तथा सोनी पाख्रिनले १९ रन बनाइन् । १ सय ४० रनको लक्ष्य पछ्याउने क्रममा थाइल्याण्डका लागि कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ नेपालका लागि कुशुम गोदारले ३, रिया शर्मा र रचना चौधरीले २/२ तथा पुजा महतोले १ विकेट लिइन् ।
गत बुधबारदेखि सुरु भएको उक्त प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्याण्डसँग खेलेको थियो । उक्त खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।
नेपालले आफ्नो दोश्रो खेल बिहीबार कुबेतसँग खेलेको थियो । उक्त खेलमा नेपालले कुबेतलाई १ सय ८ रनले हराएको थियो ।
यसैगरी, शनिबार खेलेको तेश्रो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (यूएई)सँग १३ रनले पराजित भएको थियो । नेपालले आफ्नो पाँचौँ खेल अब मङ्गलबार कुबेतसँग खेल्नेछ ।
प्रतियोगितामा आयोजक यूएईसहित नेपाल, कुबेत र थाइल्याण्ड सहभागी छन् । प्रत्येक टोलीले एक अर्कासँग दुई/दुई खेल खेल्ने छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आइसीसी यू-१९ महिला टी-२० विश्वकपका लागि छनोट हुनेछ । यू-१९ विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।
प्रतिक्रिया