विद्युत चुहावत भएर बालकुमारीकाे एक कलेजनजिक श्रेष्ठकाे घरमा आगलागी, फार्मेसीमा क्षति, मःमः पसल ध्वस्त

काठमाडाैं, मंसिर ५ ।
ललितपुर महानगरपालिका बालकुमारीस्थित एउटा घरमा मध्यरातमा विद्युत् चुहावट भएर आगलागी भएको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरकाअनुसार बालकुमारीस्थित सीसीआरसी कलेजनजिक स्वाभिमान श्रेष्ठको दुई तले घरमा एक्कासी विद्युत् चुहावट भएर आगलागी भएको हो । आगलागीबाट घरको पहिलो तलामा भोजराज भट्टले सञ्चालन गर्दै आएकाे ‘डगेरा फार्मेसी’ जलेको प्रभागका सहायक हवल्दार रुद्रप्रसाद गौतमले जानकारी दिएका छन् ।
यसैगरी, आगलागीबाट श्रेष्ठको घरसँगै एउटा पान पसल र मःम पसल ध्वस्त भएको प्रहरीले जनाएको छ । सँगैको ‘जुम्बा डान्स सेन्टर’मा पनि आगोले क्षति गरेको छ । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आइनसकेको प्रहरीले जनाएको छ । पाँच वटा दमकलको सहयोगमा एक घण्टापछि आगो निभाइएको थियो । आगो निभाउन काठमाडौंका तीन र ललितपुरका दुई वटा दमकलका साथै प्रहरीसमेत परिचालन गरिएको बताइएको छ ।
प्रतिक्रिया