नबिल बैंकद्वारा संयुक्त रूपमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
काठमाडाैं, माघ ३ ।
नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गकाे इजाजत पत्र प्राप्त संस्था नबिल बैंक लिमिटेडले राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षणकाे आयाेजना गरेको छ । नबिल बैंकले स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसन्धान सेवा कार्यालय (हर्ड नेपाल) को संयुक्त आयोजना तथा जनस्वास्थ्य सेवा कार्यालय, सुर्खेतसँगको समन्वयमा निःशुल्क रूपमा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।
नबिलको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएको शिविर कार्यक्रममा ४८ राउटे परिवारका १ सय ३७ जनाको स्वास्थ्य परीक्षण गरिएको थियाे । जसमध्ये ५९ जना महिला र ७८ जना पुरुष रहेका थिए ।
यो शिविर कार्यक्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतका सर्जन डा. सुजन सापकोटाको नेतृत्वमा चार विशेषज्ञ चिकित्सकको टोलीले राउटे समुदायमा मौसमी रुघाखोकी, निमोनिया, छाला रोग, ग्यास्ट्रिक तथा महिलाहरूमा पाठेघर र ढाड दुखाइका समस्या परीक्षण गरी औषधी वितरण गरिएको थियो । जुका, भिटामिन र आइरन चक्की जस्ता औषधीहरू पनि उपलब्ध गराइएको थियो ।
राउटे समाज मुख्यतः सुर्खेत तथा कर्णाली प्रदेशका आसपासका जिल्लाहरूमा बसोबास गर्दै आएको छ । यस समुदायमा पोषणको कमी, अस्वस्थ जीवनशैली र सरसफाईको अभावका कारण विभिन्न रोगहरू देखा पर्ने समस्या रहेको कारण यो समाजलाई केन्द्रित गरिएको नबिल बैंक्का प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले बताए । स्वास्थ्य शिविरले राउटे समुदायका व्यक्तिहरूको स्वास्थ्य जाँच, सरसफाईको महत्वबारे जागरुकता र स्वास्थ्य सेवामा पहुँच उपलब्ध गराएको उनले बताए ।
“राउटे समुदायको विशिष्ट साँस्कृतिक मान्यता र जीवनशैलीलाई सम्मान गर्दै, उनीहरूको स्वास्थ्य सुधारका लागि यो शिविर सञ्चालन गरिएको हो, शिविरले स्वास्थ्य सचेतना बढाउने र सेवा पहुँचलाई थप सुदृढ बनाउने छ,” उनले भने ।
स्वास्थ्य शिविरमा राउटे समुदायको मुखिया तथा अन्य स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा बराहताल गाउँपालिका अध्यक्ष भिमबहादुर भण्डारीले नेपालकै लोपोन्मुख जातिको बस्तीमा आएर स्वास्थ्य शिविर चलाउनु सर्हानीय कार्य रहेको बताए । राउटेहरूको समग्र विकासको लागि गाउँपालिकालगायत समग्र प्रदेश र सङ्घीय सरकारको नै मुख्य जिम्मेवारी रहेको उनले बताए । विपन्न समाजको सामाजिक उन्नयनमा बैंक तथा वित्तीय संस्थाहरूले सहयोग गर्दा अझ सजिलो भएको बताउँदै उनले नबिल बैंकको यस सहयोगको लागि धन्यावाद दिँदै आगामी दिनमा पनि अझ सहयोगको अपेक्षा गरेको बताए ।
नबिल बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ । भविष्यमा पनि समाजको समग्र सुधारका लागि यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिँदै अगाडि बढ्ने बैंकले एक प्रेस विज्ञप्ति जारी गरी जनाएकाे छ ।
प्रतिक्रिया