मतदान गर्ने शिक्षा सिक्दै वृद्धवृद्धा
डडेल्धुरा, जेठ १४ ।
स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मिति नजिकिँदै जाँदा डडेल्धुरामा मतदाता शिक्षा कार्यक्रम गाउँ गाउँमा भइरहेको छ । डडेल्धुराको सदरमुकामभन्दा पनि ग्रामीण क्षेत्रमा मतदाता शिक्षा दिनका लागि मतदाता स्वयंसेवक बढी सक्रिय रहेका छन् ।
मतपत्र झन्झटिलो भएकाले मतदाता शिक्षा लिनेमा धेरैजसो वृद्धवृद्धा नै देखिएका छन् । युवायुवतीहरू विभिन्न सञ्चारमाध्यमबाट पनि मतदान गर्ने प्रक्रियाका बारेमा जानकारी लिन सक्ने भएकाले पनि वृद्धवृद्धा प्रत्यक्ष रूपमा मतदाता स्वयंसेवकबाट नै मतदाता शिक्षा सिकिरहेका स्वयंसेवकहरूको भनाइ रहेको छ ।
मतदान गर्नु आफ्नो अधिकार भन्दै मत बदर नजाओस् भन्नका लागि मतदान गर्ने तरिकाका बारेमा जानकारी लिइरहेको डडेल्धुरा अमरगढी–७ ऐरी गाउँकी १०० वर्षीया मनु ऐरले बताए ।
सोही गाउँकी ७० वर्ष पार गरिसक्नुभएकी धनादेवी ऐरी मतदान गर्नका लागि खुसी हुँदै मतदाता स्वयंसेवकबाट मतदान गर्ने तरिकाका बारेमा छलफल गर्ने गरेको बताउछिन् ।
गाउँमा वृद्धवृद्धा एकै ठाउँमा भेला भएर मतदाता स्वंमसेवकबाट मतदान प्रक्रियाका बारेमा सिक्ने गरेका छन् । ७५ हजार सात सय ८० मतदाता रहेको डडेल्धुरामा ६० वर्षभन्दा माथिका १२ हजार चार सय २४ वृद्धवृद्धा मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय डडेल्धुराले जनाएको छ ।
चुनाव नजिकिँदै जाँदा यहाँका मतदात पनि मतदानका लागि हौसिएका छन् । यहाँका राजनीतिक दलहरू पनि घरदैलो अभियानमा व्यस्त रहेका छन
प्रतिक्रिया