पानी बाेक्ने ट्याङ्करले ठक्कर दिँदा दुई बालककाे घटनास्थलमै मृत्यु, प्रहरी चाैकी र ट्याङ्करमा आगजनी

काठमाडाैं, चैत १० ।
बाँकेको बेतहनीमा पानी बोक्ने ट्याङ्करले ठक्कर दिँदा दुई जना बालकको घटनास्थलमा नै मृत्यु भएको छ ।
डुडुवा गाउँपालिका-२ बेतहनी चोकमा भे. १ ख ४१०७ नम्बरको ट्याङ्करको ठक्करबाट स्थानीय विशाल गोडिया र शिवकुमार गोडियाको मृत्यु भएको हो ।
स्थानीयबासीले दिएकाे जानकारीअनुसार दुबै जना बेतहनीको नौरीगढी एकेडेमीमा एलकेजीमा अध्ययनरत् विद्यार्थी थिए । स्कूलबाट फर्किँदै गर्दा बेतहनी चोकमा ट्याङ्करले उनीहरूलाई ठक्कर दिएको थियो । ठक्करबाट सुरुमा सडकमा लडेर चिच्याउँदै गर्दा ट्याङ्करले पुनः ब्याक गरेर मारेको स्थानीयहरूकाे भनाई रहेकाे छ ।
घटनापछि स्थिति तनावग्रस्त बनेको र चालकलाई कारबाहीको माग गर्दै प्रहरी चौकी बेतहनी र ठक्कर दिने ट्याङ्करमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय बाँकेमा सूचना अधिकारी यमबहादुर मल्लले जानकारी दिएका छन् । उनले करिब २ घण्टाभित्रमा स्थिति नियन्त्रणमा आएको बताए ।
सो प्रहरीले दर्जनौँ सेल अश्रु ग्याँस र हवाई फायरसमेत गर्नु परेकाे थियो । प्रहरीले चालकलाई लुकाएको भन्दै स्थानीयबासी आक्रोशित भएका थिए । प्रहरीकाअनुसार दुबै जना अन्दाजी ९/१० वर्षका सहोदर दाजुभाई रहेका थिए ।
प्रतिक्रिया