काठमाडौंको चन्द्रागिरीमा एक पुरुष घाइते अवस्थामा फेला, भन्छन् ३० लाख लुटियो

काठमाडौं, बैशाख ५ ।
काठमाडौंको चन्द्रागिरीमा एक जना पुरुष घाँटीमा चोट लागेको अवस्थामा प्रहरीको सम्पर्कमा पुगेका छन् । बैशाख १ गते चन्द्रागिरी नगरपालिकामा पर्ने डाँडामा आफूलाई एउटा समूहले आक्रमण गरेर भागेको भन्दै हेटौँडा घर भएका नवराज दाहाल प्रहरीको सम्पर्कमा पुगेका हुन् ।
आक्रमण गर्नेहरूले आफ्नो साथबाट ३० लाख रुपैयाँ लुटेर भागेको उनले प्रहरी समक्ष बयान दिएका छन् । उनको घाँटीमा धारिलो हतियारले रोपेको चोट देखिएको छ । उनलाई उपचारको लागि वीर अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक जना अधिकृतले जानकारी दिए ।
स्वामी बन्न भनेर हिँडेका दाहालले दुबई जानेहरूको टिकट काट्न रकम लिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । टिकट काट्नु भनेर बोकेको सो रकम लुटपाट भएको उनको भनाई छ ।
प्रहरी वृत्त थानकोटका अनुसन्धान अधिकृतहरूले त्यसबारे अनुसन्धान गरिरहेका छन् । प्रहरीका एक जना अधिकृत भन्छन्, ‘लुटपाट भए नभएकोबारे हामी यकिन गर्दैछौँ ।’
प्रतिक्रिया