मेडिकलमा सुई लगाएकाे दुई मिनेटमा ३५ वर्षीय शाहीकाे निधन, ल्याब असिस्टेन्ट फरार

काठमाडाैं, बैशाख १५ ।
कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर-८ का निरजबहादुर शाहीको स्थानीय मेडिकलमा सुई लगाएको दुई मिनेटमा नै निधन भएको छ । ३५ वर्षीय शाही आज सोमबार बिहान टाउको दुखेपछि नजिकै रहेको दहित मेडिकलमा पुगेका थिए ।
उक्त मेडिकल सञ्चालक ईन्द्र दहित काठमाडौं गएको अवस्थामा मेडिकलमा कार्यरत ल्याब असिस्टेन्ट महावीर चौधरीले जन्डिस छ भन्दै सुई लगाएको केही समयमै शाहीको निधन भएको प्रत्यक्षदर्शीले बताए ।
झाडापखालाको उपचार गराउन गएका सोही ठेगाना भएका खडक बहादुर साउदले भने, “मलाई स्लाइन चढाएपछि निरज भाईलाई एउटा इन्जेक्सन दिइएको थियो । इन्जेक्सन दिने बित्तिकै खोक्न थाले । खोक्दा खोक्दै मुखबाट फिज आयो । एकछिनमा छटपटिन थाल्नुभयो, मुखबाट फिजसहितको लहरा जस्तो फाल्नुभयो ।”
बिरामीको अवस्था एक्कासी छटपटिएको देखेपछि साउदले के भयो भन्दै प्रश्न गरे । चिकित्सकले कसै-कसैलाई इन्जेक्सनले यस्तै हुन्छ भन्दै मुखबाट कृतिम श्वास दिने प्रयास गरे पनि उनको मृत्यु भइसकेको प्रत्यक्षदर्शी साउदले सुनाए ।
मृतक शाहीका ससुरा रामबहादुर शाहीले बिहानसँगै खाजा खाएर ज्वाईं मेडिकल गएको बताए । शाहीले भने, “सँगै चिया खाजा खाएर छोराछोरी स्कूल छोडेर टाउको दुखेको छ भन्दै मेडिकल जानुभएको हो । एकै छिनमा मृत्युको खबर सुन्न पर्यो । केही नभएको मेरो ज्वाईंको मृत्यु कसरी भयो ? सुई लगाउने मान्छे किन भाग्यो ? हामीलाई न्याय चाहिन्छ ।”
धिरजको निधन भएको केही क्षणमै ल्याब असिस्टेन्ट चौधरी भागेका छन् । घटनाको जानकारी गराएलगत्तै ईलाका प्रहरी कार्यालय सुखडबाट नवनियुक्त कार्यालय प्रमुख तथा डीएसपी रमेश अवस्थीको नेतृत्वमा १० जना प्रहरी घटनास्थलमा खटिएका छन् ।
घटना भएलगतै फरार चौधरीको खोजी कार्य भइरहेको मेडिकल सञ्चालक ईन्द्र दहितले जानकारी दिए । शव पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको डीएसपी अवस्थीले जानकारी दिए । अहिले घटनास्थलमा मृतकका आफन्त तथा स्थानीयको भिडसमेत लागेको छ ।
प्रतिक्रिया