सुधार केन्द्रमा एक युवकमाथि अमानवीय कुटपिटपछि अनुसन्धान प्रक्रिया सुरु

प्रकाशित मिति: २२ बैशाख २०८२, सोमबार १५:५६


काठमाडाैं, बैशाख २२ ।
रौतहट सदरमुकाम गौर नगरपालिका-४ मा रहेको राइजिङ नेपाल पुनःस्थापना केन्द्रमा एक युवकमाथि अमानवीय तरिकाले कुटपिट भएको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय रौतहतले अनुसन्धान प्रक्रियालाई अगाडि बढाएको छ ।

कुटपिटको भिडियो सार्वजनिक भएपछि सुधार केन्द्रका सञ्चालक सुरज गुप्तामाथि सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता दिपक कुमार रायले जानकारी दिएका छन् ।

यद्यपि, उक्त भिडियो ८ महिना पुरानो भएकाे अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक रायले बताए ।

कुटाइ खाने व्यक्ति गौर नगरपालिका-२ घर भएका दिनेश कुमार यादव रहेका छन् । यादव २०८१ पुस ४ गते सुधार केन्द्रबाट डिस्चार्ज भइसकेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकाे रायले बताए ।

यसैगरी, प्रारम्भिक अनुसन्धानमा निर्दयीतापूर्वक कुटपिट गर्ने सुधार केन्द्रका तत्कालीन कर्मचारी शिवु पाण्डे रहेका छन् । उनले जागिरसमेत छोडिसकेको प्रहरीले जनाएको छ ।

त्यस्तै, भिडियो भाइरल भएपछि जिल्ला प्रशासन कार्यालय रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी किरण निधी तिवारीको नेतृत्वमा एक टोलीले सुधार केन्द्रको अनुगमन गरेको छ ।

हाल केन्द्रमा रहेका व्यक्तिहरूसँग सो भिडियोबारे जानकारी लिनुको साथै केन्द्रमा यातना दिने गरेको कुरा सत्य हो वा होइन समेत बुझेको सहायक प्रमुख जिल्ला अधिकारी तिवारीले जानकारी दिए ।

हाल केन्द्रमा आठ जना व्यक्ति रहेका छन् । तीन महिनाभन्दा बढी समयदेखि कोही केन्द्रमा नरहेकाले भिडियोबारे केही थाहा नभएको बताएको सहायक प्रमुख जिल्ला अधिकारी तिवारीको बुझाई छ ।

गौर वडा नं.-४ मा सञ्चालनमा रहेको केन्द्र जिल्ला प्रशासन कार्यालय पर्सामा दर्ता भइ २०७३ सालमा रौतहट जिल्ला प्रशासन कार्यालयबाट शाखा स्थापनाको अनुमति लिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

लागू औषधको लतमा फसेकाहरूलाई सामान्य जीवनमा फर्काउन सहयोग पुग्ने ध्येयले सुधार केन्द्रको सञ्चालन भए तापनि पछिल्लो समयमा सुधार केन्द्रबाट विश्वास कम हुँदै गएको देखिन्छ ।


प्रतिक्रिया


ताजा खबर

More