इजरायलले गाजा क्षेत्र कब्जा गर्ने निर्णय

एजेन्सी, बैशाख २३ ।
इजरायलले गाजा क्षेत्र कब्जा गर्ने निर्णय गरेको छ । सुरक्षा क्याबिनेट बैठकले गाजा कब्जा गर्ने योजना स्वीकृत गरेको हो । क्याबिनेटले हमास समूहविरुद्ध निर्णायक कारबाही गर्ने, त्यहाँका २१ लाख बासिन्दालाई स्थानान्तरण गर्ने र बन्धक रिहा गर्ने निर्णय गरेको छ ।
यसका लागि हमासविरुद्धको सैन्य कारबाहीलाई अझ व्यापक बनाइने भएको छ । इजरायलले दुई वर्षभन्दा बढी समयदेखि गाजामा निरन्तर आक्रमण गरिरहेको छ । यो बीचमा ५३ हजारभन्दा बढी मानिस मारिएका छन् ।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले क्याबिनेटले हमासलाई नष्ट गर्ने र बाँकी बन्धक रिहाईका लागि बलपूर्वक अभियान चलाउने निर्णय गरिएको बताएका छन् ।
यद्यपि, अर्को हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमणपछि मात्र गाजा क्षेत्र कब्जा गर्ने निर्णय लागू हुने बताइएको छ । त्यतिन्जेलसम्म इजरायलले हमाससँग युद्धविराम र बन्धक सम्झौतामा पुग्ने प्रयास जारी राख्ने भएको छ ।
प्रतिक्रिया