व्यापारी तथा कर्मचारीमाथि कुटपिट एवं अभद्र व्यावहार अभियाेगमा वडाध्यक्ष पक्राउ

काठमाडाैं, बैशाख २४ ।
व्यापारी तथा कर्मचारीमाथि कुटपिट तथा अभद्र व्यावहार गरेको अभियाेगमा पोखरा महानगरपालिका वडा नम्बर-४ का वडाध्यक्ष देवकृष्ण पराजुली पक्राउ परेका छन् । उनलाई कास्की प्रहरीले आh बुधबार अपरान्ह पोखरा-१६, ढिकीडाँडाबाट पक्राउ गरिएकाे हाे ।
कास्की प्रहरीका प्रवक्ता डीएसपी हरिबहादुर पाण्डेले पक्राउको पुष्टि गरेका हुन् । डीएसपी पाण्डेकाअनुसार वडाध्यक्ष पराजुलीका विरुद्ध उनकै टोल पोखरा-४,सर्वेश्वर मार्गमार्गका व्यावसायी लेखनाथ सुवेदी तथा पोखरा महानगरका कर्मचारी ईश्वरी पौडेलमाथि हातपात गरेको उजुरीसमेत परेको छ ।
मंगलबार दिउँसो सर्वेश्वर मार्गमा सुवेदी थ्रेड एण्ड श्रृंगार स्टोर सञ्चालन गर्ने सुवेदीको पसल बाहिर सडकमा राखिएको सामान नगर प्रहरीले नियन्त्रणमा लिएको थियो । सडकमा सामान राख्न नपाइने नियमानुसार सामान उठाएपछि सुवेदीले नगर प्रहरीसँग बाहिर राखिएको सामान भित्र लैजाने प्रक्रियामा रहेको तथा आफूले भर्खरै ग्राहकलाई सामान बेचेको बताउँदै नियन्त्रणमा लिइएको सामान फिर्ताको माग गरेका थिए ।
सोही बेला वडाध्यक्ष पराजुली त्यहाँ पुगेका थिए । उनले सुवेदीलाई सडकमा किन सामान (डमी) राखेको, हटाऊ भनेका थिए । भनाभन हुँदा स्थिति तनावपूर्ण बन्न गएकाे थियो । सोही क्रममा आफूमाथि हातपात भएको सुवेदीको दाबी रहेकाे छ । वडाध्यक्ष पराजुलीले भने सुवेदीले नगर प्रहरीमाथि हातपात गर्न लाग्दा आफूले रोक्न खोजेको र सोही क्रममा आफूमाथि नै हातपातको प्रयास गरिएको दाबी गरेका छन् ।
उता, मंगलबार बिहान पौने १२ बजेतिर वडाध्यक्ष पराजुलीले महानगरका कर्मचारीमथि पनि हातपात गरेको कर्मचारीहरूको आरोप रहेकाे छ । कर्मचारीमाथि हातपात भएको भन्दै स्थानीय तह कर्मचारी युनियन, स्थानीय तह कर्मचारी संघ र नेपाल राष्ट्रिय कर्मचारी संगठनले संयुक्त विज्ञप्तिमार्फत् आपत्ति जनाएका छन् ।
प्रतिक्रिया