विद्यार्थी बोकेको निजी विद्यालयको बसमा आगलागी

प्रकाशित मिति: २५ बैशाख २०८२, बिहीबार १३:१२


काठमाडाैं, बैशाख २५ ।
रूपन्देहीमा विद्यार्थी बोकेर गुडिरहेको एक निजी स्कूलको बसमा आगलागी भएको छ ।

शुद्धोधन गाउँपालिका-४ फर्साटिकरमा सञ्चालित लिटिल फ्लावर बोर्डिङ स्कूलको बसमा एक्कासी आगो लागेको हो ।

गुडिरहेको बसमा करिब ४० जना विद्यार्थी रहेकामा आगो लागेलगत्तै उनीहरूलाई चालक र सहचालकले बसबाट बाहिर निकालेर मानवीय क्षति हुन नदिएको रूपन्देही प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले बताएका छन् । ‘घर-घरबाट विद्यार्थी चढाएर विद्यालयनजिक पुगेको बसमा अचानक धुँवासहित आगो लागेको रहेछ, लगत्तै चालक, सहचालक र स्थानीयले विद्यार्थीलाई बस बाहिर निकालेर मानवीय क्षति हुनबाट रोके’, डीएसपी कार्कीले भने ।

आगलागीबाट विद्यालयको लु. १ क १३२६ नम्बरको बस भने पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ । बसमा लागेको आगो दमकलको सहायताले नियन्त्रणमा लिएको थियो ।

बसको यान्त्रिक खराबीका कारण आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी कार्कीले बताए ।


प्रतिक्रिया


ताजा खबर

More