नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को दशौँ संस्करण भृकुटीमण्डपमा सुरु

काठमाडाैं, बैशाख २५ ।
नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को दशौँ संस्करण आज बिहीबारबाट काठमाडौंको भुकृटीमण्डपमा सुरु भएको छ ।
नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय/ व्यापार तथा निकासी प्रबर्द्धन केन्द्र (टीइपीसी) को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना एवं ललितपुर उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्योग महासंघको सहआयोजनामा आजबाट सुरु भएको मेला बैशाख २९ गतेसम्म चल्नेछ ।
मेलाको उद्घाटन गर्दै उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले सरकारले निजी क्षेत्रले भनेअनुरूप नीतिगत सुधारको लागि सरकारले काम गरिरहेको उल्लेख गर्दै नेपाली उद्योगी व्यावसायीहरूलाई उत्पादन र उत्पादकत्व वृद्धि गरी निर्यात प्रबर्द्धनमा लाग्न आग्रहसमेत गरेका छन् ।
उनले नेपालको अर्थतन्त्रलाई आत्मनिर्भर र समृद्ध बनाउन निजी क्षेत्रको भूमिका अतुलनीय रहेको उल्लेख गर्दै उनले सरकारले पनि औद्योगिक विकास, स्वदेशी उत्पादनको बजारीकरण र निर्यात प्रबर्द्धनका लागि विभिन्न नीतिगत सुधार र सहजीकरणका प्रयासहरू गरिरहेको बताए । “हामीले रुग्ण उद्योगहरूको पुनरुत्थान, नयाँ औद्योगिक सम्भावनाहरूको पहिचान र लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेका छौँ । यो मेलाले यस्ता अवसरहरूको खोजी र सहकार्यका लागि उपर्युक्त मञ्च प्रदान गर्नेछ भन्ने मेरो विश्वास छ ।” मन्त्री भण्डारीले भने ।
उनले हालै संसद्मा पेश भएको नीति तथा कार्यक्रमममा औद्योगिक विकास तथा निजी क्षेत्र प्रबर्द्धनलाई प्राथकितामा राखिएको बताउँदै देशको आर्थिक विकासमा सरकार निजी क्षेत्रको साथमा रहेको बताए ।
मन्त्री भण्डारीले मेलाले नेपाली वस्तुको गुणस्तर र मौलिकतालाई विश्व बजारमा स्थापित गर्न र स्वदेशी उत्पादनको ब्रान्डिङ गर्न मेलाले सहयोग पुर्याउने बताउँदै नेपाली व्यावसायीलाई आफ्नो प्रतिस्पर्धात्क क्षमता बढाउन आग्रह गरे ।
सोही अवसरमा बोल्दै महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रबर्द्ध्न र मुलुकको आर्थिक विकासमा मेलाले महत्वपूर्ण योगदान पुर्याउनेमा जाेड दिएका छन् ।
मुलुकको अर्थतन्त्र अझै पनि जटिल मोडमा रहेको र बजारमा माग बढ्न नसकेको अवस्थामा आफूहरूले मेला आयोजना गरेर बजारमा सकारात्मक सन्देश दिन खाेजेको उनको धारणा थियो । “मेलाले स्वदेशी तथा विदेशी उद्योगी व्यावसायीहरूबीच व्यापारिक सम्बन्ध विस्तार गर्न, लगानी आकर्षित गर्न र रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने हाम्रो अपेक्षा छ ।” वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने ।
नेपालमा अन्तर्राष्ट्रियस्तरको व्यापार मेला आयोजना गर्न उपर्युक्त मेला स्थलको अभाव एउटा प्रमुख चुनौतीको रूपमा रहेको उल्लेख गर्दै उनले व्यवस्थित मेला तथा प्रदर्शनी स्थल निर्माण गर्नुपर्नेमा जोड दिए ।
व्यापार तथा निकासी प्रबर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणाले नेपाली वस्तु निर्यात गर्न क्षमता बढाउनु पर्ने बताए ।
नेपाल, चीन र बंगलादेशका गरी १ सय २० भन्दा बढी स्टल रहेको मेलामा विभिन्न देशका व्यापारिक प्रतिनिधिहरूसँग भेटघाट र छलफलले द्विपक्षीय व्यापार र लगानीका अवसरहरूका बारेमा पनि छलफल हुने महासंघका केन्द्रीय सदस्य तथा मेला समितिका सभापति उमेश डालमियाले जानकारी दिए ।
महासंघले यो मेलालाई वार्षिक क्यालेण्डरको हिस्साको रूपमा लिएर १० औँ संस्करणसम्म आइपुगेको छ । अबका दिनमा यसलाई थप परिस्कृत र परिमार्जन गरी अन्तर्राष्ट्रियस्तरमा नेपालको ब्रान्डिङ गर्नु पर्नेमा जाेड दिएका छन् ।
मेलामा डिजिटल पेमेन्ट पार्टनर आइएमइपे, अफिसियल इन्स्योरेन्स,आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्स, इन्टरनेट पाटनर भायनेट र सपाेटर्सका रूपमा रहेका हेरिटज कार्पेट, साल्ट ट्रेडिङ कर्पोरेशन लि., चाइना एक्जिविशन एण्ड फोरम कम्पनी लि., गार्मेन्ट एशोसिएयन नेपाल एक्जिविशन लाइट हाउस, इन्ट्रोडक्सन ट्रेड सोज नेपाल (प्रा.) लि. रहेको र मेलामा निःशुल्क प्रवेशको व्यवस्था गरिएको महासंघका केन्द्रीय सदस्य तथा मेला समितिका उपसभापति सविन श्रेष्ठले जानकारी दिएका छन् ।
मेलामा नेपाल स्थित थाइल्याण्ड र इजरायल, यूएइका राजदूत अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) का देशीय निर्देशक तथा अमेरिका, रुस, पाकिस्तान, बंगलादेशका राजदूताबासका आर्थिक मामिला प्रमुखहरूको समेत सहभागिता रहेको थियो ।
प्रतिक्रिया