देशका पहाडी भू-भागका केही स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा

काठमाडाैं, बैशाख २६ ।
अहिले देशभर पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसको प्रभावले देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू-भागमा मुख्यतया सफा रहने छ । पछिल्लो ६ घण्टामा कोशी, वागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा छिटपुट वर्षा भएको छ ।
आज शुक्रबार दिउँसो गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने पूर्वानुमान रहेकाे छ ।
त्यस्तै, देशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
शुक्रबार राति देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने पूर्वानुमान छ ।
त्यसैगरी, कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक/दुई स्थानमा राति पनि मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति नै देशका हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
प्रतिक्रिया