ब्रिटिस काउन्सिलद्वारा “कनेक्सन थ्रु कल्चर” अनुदान २०२५ का लागि आवेदन आव्हान

काठमाडाैं, बैशाख २८ ।
ब्रिटिस काउन्सिलले “कनेक्सन थ्रु कल्चर (सिटिसि-संस्कृतिका माध्यमबाट संयोजन)” अनुदान २०२५ आरम्भ भएको घोषणा गरेको छ । सिटिसिअन्तर्गत ब्रिटिस काउन्सिलले नेपाली कलाकारहरू, साँस्कृतिक कर्मीहरू र सृजनात्मक कार्यमा संलग्न संस्थाहरूलाई बेलायतका साझेदारहरूसँग सहकार्य गर्न अनुदानका लागि आवेदन दिन आव्हान गरेको छ ।
विश्वव्यापी सहकार्यको आवश्यकता अहम् भएको अहिलेको परिस्थितिमा यस कार्यक्रमले नेपाल तथा अन्य देशका सिर्जनात्मक समुदायलाई जोड्ने परियोजनाहरूलाई १०,००० पाउण्ड स्टर्लिङ (करिब १८ लाख २० हजार नेपाली रुपैयाँ) सम्मको अनुदान दिनेछ । यो कार्यक्रमअन्तर्गत विभिन्न देशका कलाकर्मीहरूको संयुक्त कला कार्यशाला (ज्वाइन्ट रेसिडेन्सी), संयुक्त सिर्जनाहरूको प्रदर्शनी, मञ्चन, अनुसन्धान र डिजिटल कथा वाचन जस्ता परियोजनालगायतका त्यस्ता पहलहरूलाई सहयोग गरिनेछ । जसको उद्देश्य आपसी समझदारी बढाउने, नवीन संवाद सुरु गर्ने र दीर्घकालीन अन्तर्राष्ट्रिय साझेदारीहरू निर्माण हुनेछ ।
ब्रिटिस काउन्सिल नेपालका कन्ट्री डाइरेक्टर रुस्तम मोदीले साे सम्बन्धमा भनेका छन् : “यस कार्यक्रमले दुबै देशका कलाकर्मी र कलासम्बन्धी संस्थाहरूलाई साझा भविष्यको कल्पना गर्न सशक्त बनाउँछ । साझा सृजनात्मकता र आपसी सम्मानमार्फत् अन्तरदेशीय सार्थक साझेदारी विस्तार भएको हामी देख्दै छौँ र यसको प्रभाव दीर्घकालीन हुनेछ ।”
यो कार्यक्रमको सन् २०२५ संस्करणमा नेपालसहित बेलायत र एशिया-प्यासिफिक तथा युरोपका १९ साझेदार देशहरूबाट आवेदक खुला गरिएको छ । यस वर्ष ब्रिटिस काउन्सिलले विशेष गरी जलवायु परिवर्तन, विविधता तथा समावेशिता र कलामा समानताजस्ता विश्वव्यापी विषयहरूमा केन्द्रित कला कर्मलाई प्राथमिकता दिँदै करिब ९० परियोजनालाई अनुदान दिने लक्ष्यसमेत राखेको छ ।
ब्रिटिस काउन्सिल साउथ एसियाकी क्षेत्रीय कला निर्देशक जिल रिचेन्सले भने, “कनेक्सन थ्रु कल्चर अनुदान भन्दा पनि सृजनशीलता, सहकार्य र परिवर्तनको उत्प्रेरक हो । हामी त्यस्ता परियोजनाहरूलाई सहयोग गर्न पाउँदा गर्व गर्छौं, जसले कलात्मक नवप्रवर्तन मात्र होइन, संस्कृतिहरू र समुदायहरूबीच सेतु निर्माण गर्छन् ।”
प्रमुख जानकारी :
- आवेदन खुल्ने मिति: २८ अप्रिल २०२५
- अन्तिम म्याद: २३ जुन २०२५ (१५:०० बेलायती समय)
- अनुदान राशि: £५,००० वा £१०,००० सम्म
- परियोजना सुरु हुने मिति: अक्टोबर २०२५
नेपालका दृश्यकला (भिजुअल आर्ट), साहित्य, चलचित्र, सङ्गीत, मञ्चन गरिने कला (पर्फर्मिङ आर्ट), डिजिटल मिडिया, सम्पदा, फेसन, वास्तुकलालगायत विभिन्न विधामा काम गरिरहेका कलाकारहरू र संस्थाहरूलाई आवेदन दिन प्रोत्साहित गरिएको छ । परियोजनाहरू प्रत्यक्ष, डिजिटल वा मिश्रित (हाइब्रिड) ढाँचामा हुन सक्छन् र आवेदकहरूलाई निर्धक्कताका साथ सहकार्यमा आधारित प्रस्ताव ल्याउन प्रोत्साहित गरिनेछ ।
🔗 आवेदनका लागि: https://britishcouncilarts.grantplatform.com/
🔗 थप जानकारी तथा यस अघिका परियोजनाका लागि: https://arts.britishcouncil.org/projects/connections-through-culture-grants
रचनात्मकतामार्फत् अझ बढी संयोजित संसार निर्माण गरौँ ।
ब्रिटिस काउन्सिलका बारेमा
ब्रिटिस काउन्सिल बेलायतको अन्तर्राष्ट्रिय साँस्कृतिक सम्बन्ध तथा शैक्षिक अवसर प्रबर्द्धन गर्ने संस्था हो । हामी बेलायत र विश्वभरका मानिसहरूबीच सम्बन्ध, समझदारी र विश्वास निर्माण गरी शान्ति र समृद्धिमा सहयोग पुर्याउँछौँ । यी काम हामी कला, संस्कृति, शिक्षा र अङ्ग्रेजी भाषामार्फत् गर्छौं । हामी विश्वका २०० भन्दा बढी देश र क्षेत्रहरूमा काम गर्छौं र १०० भन्दा बढी देशहरूमा हाम्रो भौतिक उपस्थिति रहेका छन् । सन् २०२२-०२३ मा हामीले ६० करोड मानिसहरूलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सेवा पुर्याएका थियौँ ।
www.britishcouncil.org
प्रतिक्रिया