आज २५६९ औँ बुद्ध जयन्ती, विविध कार्यक्रम गरी मनाइँदै (फोटोसहित)

काठमाडाैं, बैशाख २९ ।
आज सोमबार २५६९ औँ बुद्ध जयन्ती बुद्ध जन्मस्थल लुम्बिनीसँगै देशभरका बौद्ध स्तूपा, विहार र गुम्बामा पूजाआजासहित विविध कार्यक्रम गरी बुद्ध जयन्ती मनाइँदैछ ।
विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ क्षेत्रमा पनि आज बिहानैदेखि बौद्धमार्गी तथा सर्वसाधारणको घुइँचो लागेको छ । बुद्ध जयन्तीका अवसरमा आज स्वयम्भू महाचैत्यस्थित बुद्ध मन्दिरमा विशेष पूजाअर्चना हुनेछ ।
स्वयम्भू क्षेत्रमा आज नेपाल सरकारका उच्च ओहोदाका विशिष्ट व्यक्ति, बौद्ध धर्मगुरु, भिक्षु, कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, विभिन्न देशबाट आएका विशिष्ट पाहुनालगायतले पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ ।
स्वयम्भूनाथ परिसरभित्रै रहेको आनन्द कुटी विहारमा बुद्धको अस्तु धातु पूजाआजा र दर्शनका लागि राखिएको स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका अध्यक्ष भिक्षु धर्ममूर्तिले जानकारी दिएका छन् । बुद्धको अस्तु धातु बुद्ध जयन्तीका दिन मात्रै सर्वसाधारणको दर्शनका लागि राखिँदै आएको छ ।
दिउँसो सार्वजनिक बौद्ध सभा आयोजना गरिएको छ । स्वयम्भूनाथ क्षेत्रमा विभिन्न पूजाआजा, रक्तदान तथा प्रसाद वितरणका कार्यक्रम हुने जनाइएको छ ।
प्रतिक्रिया