मौसम प्रणालीमा २४ घण्टे अलर्ट जारी, सतर्क रहन आग्रह

काठमाडाैं, बैशाख २९ ।
मौसम महाशाखाकाअनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।
जसका कारण यतिबेला आज सोमबार साँझ कोसी प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
यसैबीच, मधेश प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका भू-भागलगायत पहाडी भू-भागका धेरै स्थानमा अधिकतम तापक्रम बढेको मौसम महाशाखाले जनाएको छ ।
महाशाखाले सोमबार साँझ ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ ।
जसमा भनिएको छ: मधेश प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका भू-भागलगायत पहाडी भू-भागका धेरै स्थानमा अधिकतम तापक्रम बढ्ने सम्भावना छ । साथै कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थान र बाँकी पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ । यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक तयारी गर्न हुन तथा आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको छ ।
मौसम महाशाखाकाअनुसार आज राति र भोलि मंगलबार दिउँसो यस्तो छ वर्षाको सम्भावना :
आज राति कोशी प्रदेशलगायत देशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना छ ।
मंगलबार दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थान र बाँकी पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ ।
प्रतिक्रिया