काभ्रेको पनौतीमा आज भीषण वर्षा, २८ वर्षीया युवती बेपत्ता

काठमाडाैं, बैशाख २९ ।
काभ्रेको पनौतीमा आज सोमबार भीषण वर्षा भएको छ ।
गत वर्षको असोजमा जस्तै ठूलो वर्षा हुँदा पनौती नगरपालिका वडा नम्बर-३, ५, ६, ४, ७, ८, ९, १० मा ठूलो क्षति भएको छ । कुलोले बगाउँदा पनौती नगरपालिका-५ स्थित सुब्बा गाउँकी २८ वर्षीया रेनुका गिरी बेपत्ता भएकी छन् ।
असोजको बाढीले क्षतविक्षत पारेका र अस्थायी रूपमा निर्माण गरिएका खानेपानीका पाइपहरू बगाएको पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले जानकारी दिएका छन् ।
असोजको बाढीपछि निर्माण गरिएको ३ किलोमिटर अस्थायी बाटो पनि बगाएको छ । आलु खन्ने बेलाका खेतहरू डुबानमा परेका छन् । आजको वर्षापछि रोशी खोलामा पुनः बाढी आएको छ ।
गत असोजको बाढीमा परी पनौती नगरपालिकामा मात्रै २२ जनाको निधन भएको थियो ।
प्रतिक्रिया