नेवार समुदायले २५ सय वर्षदेखि मनाउँदै आएकाे चण्डेश्वरी जात्रामा उल्लासमय

प्रकाशित मिति: ३० बैशाख २०८२, मंगलवार ०८:१५


काठमाडाैं, बैशाख ३० ।
बनेपा, काभ्रेका नेवार समुदायले विगत २५ सय वर्षअगाडिदेखि मनाउँदै आइरहेकाे चण्डेश्वरी जात्राले उक्त नगर अहिले उल्लासमय वातावरण बनेको छ । बैशाख शुक्ल पूर्णिमाको दिन भव्य रूपमा चण्डेश्वरी जात्रा मनाउने गर्दछ । हरेक वर्ष चण्डी पूर्णिमादेखि तीन दिनसम्म जात्रा मनाउने गरिन्छ । जात्राको पहिलो दिन आज मंगलबार बिहान सबेरै मत पूजा अर्थात चिराग यात्रा गरिन्छ ।

दोश्राे दिन बिहानसम्ममा सोही स्थानमा रहेको देवीसहितको खटलाई विधिपूर्वक पूजाआजा सकेर पुनः खटलाई बनेपाको बकुटोलतर्फ लगिने स्थानीय तथा भजन गुरु श्रीकृष्ण अवालेले जानकारी दिए ।  उनले भने, “खटलाई प्राचीन लाय्कू दरबारसम्म पुर्‍याइन्छ र त्यहाँबाट चण्डेश्वरी देवीको मूर्तिलाई अर्को सानो खटमा राखेर पुनः बकुटोलमै ल्याउने तथा मूर्तिलाई सानो खटमा राखेर पुनः चण्डेश्वरीमा नै पुर्‍याएपछि जात्राकाे समापन हुन्छ ।

अवालेकाअनुसार धिमे, नायखिँ, छुस्याःलगायत विभिन्न बाजागाजासहित आस्था भएका सबैले आ-आफ्नो घरबाट चिराग बोक्दै बनेपाको लाय्कूमा जम्मा भई जलेश्वर महादेव (जसिगा) सम्म पुगेर विसर्जन गर्ने प्रचलन रहेको छ । उनले जात्राका क्रममा चण्डेश्वरी मन्दिरभित्र रहेका पिंगः देवतालाई १२ वटा बोका बलि दिने र तीमध्ये एउटा बोका द्वारे र अर्को बोका जोशीलाई दिइने र बाँकी बोकाको मासु ‘कलङ्दान’ गर्ने  प्रचलन रहेको जानकारी दिए ।

कलङ्दान जात्रामा मासुलाई प्रसाद स्वरूप भिडमा फालिन्छ । चण्डेश्वरी जात्रामा बनेपाका स्थानीय मानन्धर, भोछिभोया, राजबाहकलगायतका सबै नेवार समुदायसँग प्रत्यक्ष सम्बन्ध रहने भएकाले यो जात्रालाई विशेष महत्वका साथ लिइने गरिएको हो । स्थानीय प्रेमलाल मानन्धरले कलङ्दानका क्रममा भिडमा फालिएको मासुका टुक्रा पाउनेलाई भाग्यमानी मानिने किम्वदन्ती रहेको बताए ।

यस प्राचीन जात्रामा भाग लिन दोलखा, ललितपुर, भक्तपुर, काठमाडौं, रामेछापलगायतका ठाउँबाट समेत श्रद्धालु भक्तजनहरू आउने गर्छन् । रथमा देवी चण्डेश्वरीलाई रथारोहण गराई देवगृहबाट परिक्रमाका लागि निकालिने चलन छ । बनेपाको तीनधारामा बनाइएको पाङ्ग्रा नभएको खटलाई भेडा बलि दिइएपछि देवता नभएको खाली खटलाई विभिन्न बाजागाजासहित स्थानीय युवाले बोकेर चण्डेश्वरी पुर्‍याउने गर्दछ ।

बनेपालगायतका आसपासका नेवार समुदायको आराध्यदेवकै रूपमा चण्डेश्वरीलाई लिइन्छ । चण्डासुरको बधपछि चण्डेश्वरीलाई देवलोकमा बाजागाजासहितले स्वागत गरिएको र यसै खुसियालीमा सत्ययुगबाटै यस जात्रा गरिआएको बताइन्छ । चण्डासुरको मृत्युको खुसियाली नै यस जात्राको रौनक हो । चण्डेश्वरी जात्राका साथै काभ्रे जिल्लामा उग्रचण्डी नालामा भगवती महालक्ष्मीको, साँगामा नासिका भगवतीको, चौकोटमा श्वेत गणेशको, श्रीखण्डपुरमा श्वेत भैरवको र पनौतीमा इन्द्रेश्वरको जात्रा बर्सेनि हुने गरेको छ ।

किम्वदन्तीअनुसार २५ सय वर्षअगाडि आराध्यदेवी चण्डेवरी माईको जात्रा धार्मिक कथनअनुसार दैत्यराज चण्डासुरले लामो समयसम्म तपस्या गरेपछि कुनै पनि पुरुषले आफूलाई मार्न नसक्ने वरदान पाएको थियो । भगवतीका रूपमा प्रकट भएर चण्डासुरको बध गरेर देवताको रक्षा गरेको खुसियालीमा जात्रा मनाइँदै आएको हालसम्म पनि धार्मिक जनविश्वास रहिआएको छ ।


प्रतिक्रिया


ताजा खबर

More

५० औँ दिनपछि राप्रपाका उपाध्यक्ष मिश्र थुनामुक्त

काठमाडाैं, जेठ २ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्र.....