राप्रपाको आज बन्द सत्र, एक सय एक्साठी सदस्यीय कार्यसमिति छान्दै

काठमाडौं, फागुन ७ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको काठमाडौं जारी रहेको एकता महाधिवेशनअन्तर्गत आजबाट बन्द सत्र सुरु गर्दै विधान संशोधन प्रस्ताव पेश गर्ने तयारी रहेको छ ।
भृकुटीमण्डमा हुने उक्त बन्द सत्रमा नेता बुद्धिमान तामाङ संयोजकत्वको समितिले तयार पारेको विधान संशोधनको प्रस्ताव पेश गर्ने र प्रस्तावमाथी छलफल हुने पार्टी प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिएका छन् । फागुन ९ गतेसम्म चल्ने महाधिवेशनले अध्यक्षसहित नयाँ केन्द्रीय समिति छान्ने छ ।
संशोधित विधानअनुसार महाधिवेशनले अध्यक्षसहित एक सय ६१ सदस्यीय कार्यसमिति छान्ने छ । केन्द्रीय सदस्यको चुनाव गरी २४ सदस्यीय पदाधिकारी चयन गरिने छ । त्यसैगरी, संशोधित विधानले अध्यक्षसहित २५ सदस्यीय पदाधिकारीको व्यवस्था गरेको छ । पदाधिकारीमा उपाध्यक्ष पाँच, महामन्त्री तीन, कोषाध्यक्ष एक, प्रवक्ता एक, सहमहामन्त्री पाँच, सहायक महामन्त्री सात र सहायक प्रवक्ता दुई जना रहने व्यवस्था गरिएको छ ।
एक सय ६१ सदस्यीय केन्द्रीय समितिमा ६० प्रतिशत संख्याको मात्र चुनाव हुनेछ । ४० प्रतिशत केन्द्रीय सदस्य भने अध्यक्षले मनोनयन गर्ने व्यवस्था रहेको छ । देशभरबाट चुनिएर आएका तीन हजार तीन सय १५ प्रतिनिधिले महाधिवेशनमा भाग लिएका छन् । पार्टीले राजसंस्थासहितको हिन्दू राष्ट्र र स्थानीय स्वायत्त शासनलाई मार्ग निर्देशन बनाएको छ ।
नेतृत्वका लागि कमल थापामा सर्वसम्मति कायम गरेको बताइए पनि थापा पक्षले सहमति पालना नगरेको भन्दै डा. प्रकाशचन्द्र लोहनीले पनि उम्मेदवारी दिने भएका छन् । विधान संशोधन प्रस्तावमा ६५ सदस्यीय केन्द्रीय कार्यसमिति बनाउने, पार्टी अध्यक्षसहित ६५ प्रतिशत केन्द्रीय सदस्य चुनावबाट छानिने र बाँकीलाई अध्यक्षले मनोनयन गर्ने, र दुई जना प्रवक्ता तोक्नेलगायत प्रस्ताव गरिएको छ ।
पहिलो सत्रमा विधान संशोधनबारे छलफल भएपछि अध्यक्ष थापाले पेश गरेको राजनीतिक र नेता डा. प्रकाशचन्द्र लोहनीले पेश गरेको आर्थिक प्रतिवेदनमाथी छलफल सुरु हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया