काठमाडौंको भुवनेश्वरी मन्दिरनजिक माइक्रो दुर्घटना, आठ महिला घाइते (नामावलीसहित)

काठमाडाैं, जेठ २३ ।
काठमाडौंको तारकेश्वर नगरपालिका-३ तीनपिप्ले भुवनेश्वरी मन्दिरनजिक आज शुक्रबार माइक्रोबस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराकाअनुसार आज दिउँसो काभ्रेको बनेपाबाट भुवनेश्वरी मन्दिर घुम्न आएका यात्री बोकेको बा.१ ज ८६८५ नम्बरको माइक्रोबस तारकेश्वर-३ तीनपिप्ले भुवनेश्वरी मन्दिरनजिक उकालोमा ब्रेक फेल हुँदा दुर्घटना भएको हो ।
दुर्घटनामा काभ्रे बनेपा नगरपालिका-१० की ३८ वर्षीया सुनिता खड्का, ३८ वर्षीया शारदा रावत, ३७ वर्षीया अनिता थापा, ६० वर्षीया कान्छी खड्का, ४५ वर्षीया रामशोभा थापा, ४५ वर्षीया शान्ता खत्री, ७० वर्षीया पार्वती काफ्ले र ३७ वर्षीया लक्ष्मी खड्का घाइते भएका प्रहरी उपरीक्षक बोहराले जानकारी दिए । घाइते सबैको मेगा ग्रीनसिटी अस्पताल जरङ्खुमा उपचार भइरहेको छ ।
माइक्रोबस सडकबाट १० मिटर तल खसेको थियो । उक्त घटनाका विषयमा थप अनुसन्धान जारी रहेको प्रवक्ता बोहराले जानकारी दिएका छन् ।
प्रतिक्रिया