अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ ।
अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको मानेसास पार्कस्थित एकै घरका दुई बालबालिका, एक महिला र एक पुरुष मृत अवस्थामा फेला परेका हुन् ।
उनीहरू सबैको गोली लागेर मृत्यु भएको देखिएको स्थानीय प्रहरीलाई उदृत गर्दै सीएनएनले जनाएको छ । प्रहरीले यस घटनालाई हत्यापछि आत्महत्या भएको आशंकामा अनुसन्धान गरिरहेको छ ।
मानेसास पार्क प्रहरीकाअनुसार जुन ५ को राति १०ः४० बजे प्रहरी टोलीलाई लाने लेनको ९४०० ब्लकमा रहेको एक घरमा जाँचका लागि बोलाइएको थियो । समाचारमा जनाइएअनुसार घरधनीले आफ्ना भाडामा बस्ने व्यक्तिहरूसँग सम्पर्क हुन नसकेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीहरू तलको अपार्टमेन्टमा प्रवेश गर्दा चार जनाको शव फेला परेको थियो । मृतकमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, २ वर्षे बालक, र ८ वर्षीया बालिका रहेको प्रहरीले जानकारी दिएको समाचारमा उल्लेख छ ।
घटनास्थलमा एक थान बन्दुकसमेत फेला परेको प्रहरीले जनाएको छ । सबै शवहरूलाई मानेसासस्थित मेडिकल एक्जामिनरको कार्यालयमा लगिएको छ ।
प्रहरीले यस घटनालाई घरभित्रै सीमित रहेको पारिवारिक हत्याको रूपमा लिएको छ र बाहिरी व्यक्तिको संलग्नता नदेखिएको जिकिर गरेको छ । तर, गोली चलाउने व्यक्तिको परिचय भने सार्वजनिक गरिएको छैन ।
एनबीसी वासिङ्टन ‘न्यूज ४’ सँग छिमेकीहरूले मृतकहरू करिब ६ महिना अघि सो बस्तीमा बसाइँ सरेको बताएका छन् । मानेसास पार्क उत्तर भर्जिनियामा रहेको एउटा शहर हो, जुन वासिङ्टन डीसीबाट करिब ३० माइल दक्षिण-पश्चिममा, प्रिन्स विलियम काउन्टीको बिचमा पर्दछ ।
प्रतिक्रिया