नयाँ सालको पहिलो मसान्तमा नै चुनाव हुने प्रम दाहालको भनाई

काठमाडौं, फागुन ७ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले अब आउने नयाँ सालको बैशाख मसान्तभित्रमा स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी तीब्र रूपमा अगाडि बढेको बताएका छन् । उनले चुनावकै लागि निर्वाचन आयोगलाईसमेत पत्राचार गरिसकेको बताउँदै चुनावलाई लिएर भ्रममा नपर्नसमेत आग्रह गरेका छन् ।
काठमाडौंको टुँडिखेलमा आज आयोजित ६७ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बोल्दै उनले निर्वाचन आयुक्तको पदपूर्ति भइसकेको र नयाँ संविधानअनुसार चुनावसँग सम्बन्धित राजनीतिक र कानूनी मुद्दाको टुङ्गो लगाउने कार्य पनि अन्तिम चरणमा पुगेको बताए ।
‘संविधान सभाले जारी गरेको नयाँ संविधानको कार्यान्वयनका लागि चुनाव अनिवार्य छ’ उनले भने, ‘यसो भए मात्र शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुगी राजनीतिक संक्रमणको एउटा महत्वपूर्ण अध्याय समाप्त हुन्छ ।’
संघीयताको कार्यान्वयनका लागि चुनाव आवश्यक तत्व भए तापनि यो मात्र पर्याप्त नभएको उनको भनाई थियो । निर्वाचित जनप्रतिनिधि आएपछिको सरकारको दूरदृष्टि र योजना के भन्ने कुराको पनि त्यत्तिकै महत्वपूर्ण हुने बताउँदै उनले सिंहदरबारमा रहेको अधिकार श्रोत र साधनलाई संघात्मक ढाँचामा ढाली घरदैलोसम्म पुर्याउनेबताए ।
आजकै दिनदेखि नेपालीहरू रैतीबाट सार्वभौम नागरिक भएको स्मरण गर्दै प्रधानमन्त्री दाहालले आधुनिक नेपाल परिवर्तनको सुरुवात पनि फागुन ७ गतेबाटै भएकाले आजको दिन विशेष रहेको उल्लेख गरे । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश सुशीला कार्की, सभामुख ओनसरी घर्तीमगरलगायत विशिष्ट व्यक्तिको सहभागिता रहेको थियो । कार्यक्रमको अवसरमा नेपाली सेना तथा खेलाडीले विभिन्न खेल कौशल प्रस्तुत गर्नुका साथै कवाज र हेलिकोप्टरबाट पुष्पवृष्टिसमेत गरिएको थियो ।
तत्कालीन राजा त्रिभुवनले प्रजातन्त्रको घोषणा गरेपछि राणा र नेपाली कांग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भएको थियो । वि.सं. २००० सालपछि स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेस र नेपाल राष्ट्रिय कांग्रेसबीच २००६ सालमा एकीकरण भएपछि बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो ।
प्रतिक्रिया