स्थानीय तहको निर्वाचन बैशाख मसान्तमा गर्ने घोषणा, चुनावलाई लिएर स्वागत र विरोध सँगसँगै

प्रकाशित मिति: १० फाल्गुन २०७३, मंगलवार ०८:१०


काठमाडौं, फागुन १० ।
सरकारले स्थानीय तहको निर्वाचनको मिति बैशाख ३१ गतेका लागि घोषणा गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको स्वास्थ्यमन्त्री गगनकुमार थापाले जानकारी दिएका छन् ।

सोमबार तेश्रो पटक मन्त्रिपरिषद्को बैठक बस्नु अघि सरकारले निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादवसँग परामर्श गरेका थिए । त्यसपछि बसेको बैठकले निर्वाचनको मिति घोषणा गरेको हो ।

सरकारले संसद्मा दर्ता भएको संविधान संशोधन प्रक्रिया पनि अघि बढाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को हिजो बसेको बैठकले निर्वाचनको मिति घोषणासँगै असन्तुष्ट पक्षको माग सम्बोधनका लागि संशोधन प्रस्ताव पनि अघि बढाउने निर्णय पनि गरेको छ ।

आजको लागि तय भएको संसद् बैठकमा संशोधन प्रस्तावमाथीको छलफल सुरु हुने सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए । मन्त्रिपरिषद् बैठकले स्थानीय तहको संख्या बढाउने निर्णय पनि गरेको छ । पुनर्संरचना आयोगद्वारा पेश गरिएको प्रतिवेदन अध्ययन गर्न गठित कार्यदलको सुझावअनुसार सीमांकन हेरफेर गर्ने र स्थानीय तहको संख्या वृद्धि गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिए ।

यसैगरी, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले चुनाव घोषणाको स्वागत गरेको छ । तर, स्थानीय तहको संख्या बढाउने निर्णयको विरोध पनि गरेको छ । एमालेका सचिव योगेश भट्टराईले चुनावको मिति घोषणा स्वागतयोग्य भएको बताएका छन् । एमालेले अब निर्वाचनको तयारी युद्धस्तरमा अघि बढाउनु पर्ने र आवश्यक ऐन कानून बनाउनु पर्ने बताएको छ ।

यता सरकारले चुनाव घोषणा गरेलगत्तै मधेशी मोर्चाले दबाबमूलक आन्दोलनको घोषणा गरेको छ । यद्यपि, उसले संविधान संशोधन भएमा स्थानीय चुनावमा सहभागी हुनसक्ने संकेत दिएको छ ।

चुनाव घोषणाका लागि सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेका बेला मधेशी मोर्चाका नेताहरू तमलोपा कार्यालयमा आन्दोलनबारे छलफल गरिरहेका थिए ।

सरकारले चुनावको मिति घोषणा गरेलगत्तै मधेशी मोर्चाले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।

मोर्चाले आज मसाल जुलुस निकाल्ने र भोलि ११ गते मधेश बन्द गर्ने घोषणा गरेको छ । १२ गतेदेखि १५ दिनसम्म गाउँ, नगर सदरमुकामहरूमा भण्डाफेर अभियान चलाउने निर्णय भएको रामसपा महासचिव केशव झाले जनकारी दिए ।

त्यसैगरी, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सरकारले घोषणा गरेको स्थानीय चुनावको सशक्त प्रतिरोध गर्ने बताएका छन् ।

रोल्पाको थवाङमा जारी महाधिवेशनबाटै विज्ञप्ति जारी गर्दै उनले सो कुरा बताएका हुन् । विज्ञप्तिमा विप्लवले गाउँ–गाउँमा आफ्नो जनसत्ता सञ्चालन भइरहेका बेला सरकारले घोषणा गर्ने चुनावको कुनै औचित्य नरहेको भन्दै उनले उक्त चुनावलाई आफ्नो पार्टीले पूर्णतया असफल पारिदिने चेतावनी दिएका छन् ।

स्थानीय तहमा आफ्नो पार्टीले सञ्चालन गरेको जनसत्ताले जनताका काम कारबाही अगाडि बढाइरहेको भन्दै विप्लवले पुरानो सत्ताको झल्को दिने गरी माओवादी नेतृत्वको सरकारले यदि बल मिँच्याई गरे त्यसको परिणाम राम्रो नहुने चेतावनीसमेत दिएका छन् ।

त्यसैगरी, सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले तोकिएकै मितिमा स्वतन्त्र र निश्पक्ष चुनाव गराउने बताएको छ । निर्वाचन आचार–संहिता, निर्वाचन कार्यक्रम र अत्यावश्यक नीति, निर्देशिका र निर्णयका लागि आयोगको आज बैठक बस्ने भएको छ ।

‘बैशाख मसान्तभित्र निर्वाचन सम्पन्न गर्ने गरी तयारी थाल्न यसअघि नै सरकारले गरेको पत्राचार अनुरूप स्थानीय निर्वाचनका लागि आयोगले आन्तरिक तयारी थालिसकेको छ ।


प्रतिक्रिया


ताजा खबर

More

१२ वर्षीया बालिकालाई जबरजस्ती करणी आरोपमा १९ वर्षीय युवक पक्राउ

काठमाडाैं, बैशाख ३ । ताप्लेजुङमा एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ.....