चिकित्सकका कारण बिरामीको मृत्यु भएको भन्दै धरानको विजयपुर अस्पतालमा तोडफोड, व्यापक मात्रामा प्रहरी परिचालन (भिडियोसहित)

धरान, फागुन १० ।
धरानस्थित विजयपुर अस्पतालमा उपचाररत् एक बिरामीको चिकित्सकको लापर्बाहीका कारण मृत्यु भएको भन्दै मृतकका आफन्तहरूद्वारा अस्पतालमा तोडफोड गरेका छन् ।
धरान–१७ का ३१ वर्षीय अमित जोशीलाई चिकित्सकले शल्यक्रिया गर्ने क्रममा लापर्बाही गरेका कारण उनको मृत्यु भएको भन्दै आफन्त र स्थानीयहरू आक्रोसित हुँदै विरोधमा उत्रिएपछि अस्पतालको झ्यालमा रहेको सिसा तोडफोड गर्दै उपचारमा संलग्न चिकित्सक एवं अस्पताललाई कानूनी दायरामा ल्याई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।
आज बिहान करिब ४ बजेको समयमा भएको उक्त तोडफोडलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरी, जनपथ प्रहरी परिचालन गरेको छ । अस्पतालका वरिष्ठ सर्जन रोशन खतिवडाको लापर्बाहीका कारण बिरामीको अनाहकमै मृत्युवरण गर्नुपरेको आफन्तहरूले आरोप लगाएका छन् भने शल्यक्रियामा संलग्न चिकित्सक डा. खतिवडाले भने शल्यक्रिया राम्रोसँग भए तापनि शल्यक्रियापश्चात एस्पिरेशन अर्थात फोक्सोमा खाना वा पानी गएर बसेका कारणले उनको मृत्यु भएको दाबी गरेका छन् ।
समस्या समाधानका लागि अहिले अस्पताल प्रशासन र मृतकका आफन्तबीच वार्ता जारी रहेको छ । अमित जोशी हिजो पेट दुखेर उपचारका लागि अस्पताल पुगेका हुन् । उनको हिजो बिहान ७ बजे शल्यक्रिया गरिएको थियो भने आज बिहान २ बजे मृत्यु भएको आफन्तले जनाएका छन् ।
प्रतिक्रिया