राप्रपाको केन्द्रीय सदस्यका लागि मतदान जारी, साँझसम्म परिणाम आउने

प्रकाशित मिति: १० फाल्गुन २०७३, मंगलवार १३:०९


काठमाडौं, फागुन १० ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता राजाराम श्रेष्ठकाअनुसार अधिवेशनमा केन्द्रीय सदस्यका लागि आज बिहान ८ बजेदेखि निर्वाचन जारी रहेको छ । राष्ट्रिय सभा गृहमा साँझ ५ बजेसम्म मतदानको समय राखिएको छ । मतदानको प्रक्रिया सकिने बित्तिकै मतगणना गरी परिणाम सार्वजनिक गरिने जनाएको छ ।

विद्युतीय मतदान यन्त्रको प्रयोग गरिएकाले आज साँझसम्म नतिजा सार्वजनिक हुने बताएका छन् । पार्टीका नवनिर्वाचित अध्यक्ष कमल थापाले पहिलो पटक मतदान गरी सो प्रक्रियाको शुभारम्भ गरेका थिए ।

पार्टीको विधानअनुसार एक सय ६३ सदस्यीय केन्द्रीय समितिको ६० प्रतिशत (९८ पदका) लागि हुन लागेको निर्वाचनमा तीन सय ६३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । बाँकी ४० प्रतिशत सदस्य क्षेत्र, भूगोल, विशेषज्ञताका आधारमा पार्टी अध्यक्षले मनोनयन गर्ने व्यवस्था रहेको छ ।

महिलातर्फ ३३ सिट रहेका छन्, जसमा खुला १६ तथा आरक्षणमा १७ सिट छन् । आरक्षणतर्फ मधेशी समुदायबाट पाँच, आदिवासी जनजाति छ, उत्पीडित दुई, मुस्लिम एक, कर्णाली र पिछडिएको क्षेत्रबाट दुई, थारू समुदायबाट एक जना निर्वाचित हुने छन् ।

पुरुषतर्फ ६५ सिट कायम गरिएको छ, खुला ४० तथा आरक्षणमा २५ सिट छन् । आरक्षणतर्फ मधेशी समुदायबाट सात, आदिवासी जनजाति नौ, उत्पीडित दुई, मुश्लिम दुई, कर्णाली र पिछडिएको क्षेत्रबाट दुई, थारू समुदायबाट एक, प्रवासबाट दुई जना निर्वाचित हुने छन् ।

महाधिवेशन सम्पन्न भएपछि ४० प्रतिशत मनोनित गरिने र २७ सदस्यीय पदाधिकारी चयन गरिने छ । आसन्न महाधिवेशनमा करिब रु. एक करोड ५० लाख खर्च गर्ने भनिएको भए पनि महाधिवेशनको समय अवधि लम्बिएकाले खर्च बढ्न सक्ने बताइएको छ ।

पार्टीको महाधिवेशनमा देश तथा विदेशबाट सहभागी हुन आउने प्रतिनिधि, पर्यवेक्षकलाई खान, बस्न तथा महाधिवेशनका लागि मञ्च व्यवस्थापन, प्रचार–प्रसारका लागि सो रकम खर्चका लागि छुट्याइएको थियो ।

पार्टीका नेता किरण गिरीकाअनुसार सो रकम पार्टीका नेता तथा कार्यकर्ताबाट सङ्कलन गरिने जनाइएको छ । महाधिवेशनमा महिला, दलित र सीमान्तकृतलगायतको समावेशी प्रतिनिधित्व गराइने छ । महाधिवेशनमा हुने चुनावका लागि ६० वटा विद्युतीय मतदान यन्त्र प्रयोग गरिएको छ ।

मुलुकमा राजनीतिक स्थायित्व कायम गर्नका लागि संवैधानिक राजसंस्थाको पक्षमा महाधिवेशन केन्द्रित गरिएको छ । आजको परिणाम सार्वजनिक भएसँगै महाधिवेशनको समापनसमेत गरिने युवा नेतृ बिना थापाले जानकारी दिएकी छन् ।


प्रतिक्रिया


ताजा खबर

More

अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ

काठमाडाैं, चैत २८ । अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका.....