मोर्चाको बन्द आव्हानका कारण जनजीवन कष्टकर बन्दै

सुनसरी, फागुन ११ ।
सरकारले बैशाख ३१ गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि असन्तुष्ट बनेका मधेशी मोर्चाले आव्हान गरेको बन्दका कारण तराईका सबै जिल्लामा प्रभाव परेको छ ।
एकाएक बन्दको घोषणा गरेको मधेशी मोर्चाका कारण तराईका विभिन्न ठाउँ हुँदै चल्ने सवारी साधन चल्न सकेका छैनन् भने शैक्षिक संस्था र बजार पसल पनि पूर्ण रूपमा बन्द रहेको छ ।
यसैगरी, बन्दको प्रभाव सिरहा, सप्तरी, सुनसरी र मोरङमा परेको छ भने विराटनगरबाट दुहवी–इटहरीतर्फ जाने गाडी चल्न सकेका छैनन् । यस्तै सुनसरीमा इटहरीबाट झापा र धरानतर्फ जाने गाडी पनि पूर्ण रूपमा ठप्प रहेको छ ।
योभन्दा अगाडि मोर्चाले संविधान संशोधन गरेर मधेशी मोर्चाको माग पूरा गरेपछि मात्र निर्वाचन गर्न माग गर्दै तराईका २२ जिल्ला बन्द आव्हान गरेको हो । बन्दको अघिल्लो दिन संयुक्त मधेशी मोर्चा रंगेलीले हिजो बेलुका रंगेलीस्थित काली मन्दिरबाट सरकारले चुनावको मिति घोषणा गरेकोमा विरोध जनाउँदै मसाल जुलुस निकालेको छ ।
संयुक्त मधेशी मोर्चा रंगेली संयोजक शंकरप्रसाद साहको नेतृत्वमा स्थानीय काली मन्दिरबाट निस्केको मसाल जुलुस रंगेली चोक हुँदै बसपार्कमा पुगेर टुंगिएको थियो । जुलुसका क्रममा संविधान संशोधन गर, हाम्रो माग पूरा गर लगायतका नारा लगाउँदै मोर्चाका कार्यकर्ताहरू सहभागी भएका थिए ।
प्रतिक्रिया