नयाँ शक्ति र संघीय समाजवादीद्वारा चुनाव स्थगित गर्न माग गर्दै राखे ६ शर्त (विज्ञप्तिसहित)

काठमाडौं, फागुन १२ ।
वर्तमान सरकारले चुनावको मिति घोषणा गरेसँगै स्वागतयोग्य कार्य भएको भन्दै प्रोत्साहन दिएको पार्टी नयाँ शक्ति नेपालले अहिले पुनः मधेशी मोर्चाले जस्तै स्थानीय निकायको निर्वाचनको विरुद्धमा उत्रिएको छ ।
नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवद्वारा आज संयुक्त रूपमा एक विज्ञप्ति जारी गर्दै सरकारले घोषणा गरेको स्थानीय निकायको चुनाव स्थगित गर्न माग गरेका छन् ।
यसका साथै स्थानीय निकायको चुनावका लागि उनीहरूले ६ वटा शर्तहरू सरकारले पूरा गर्नुपर्ने मागसमेत गरेका छन् ।
यस्ता छन् ६ वटा शर्त
१. व्यवस्थापिका संसद्मा दर्ता गरिएको संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गर्नु पर्दछ ।
२. सङ्घीयता कार्यान्वयनका लागि सङ्घ र प्रदेशको निर्वाचन पहिला गराइनु पर्दछ ।
३. प्रदेश मातहत स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्रको संख्या र सीमा निर्धारण गरी बाँकी भूगोललाई जनसंख्याको आधारमा स्थानीय तह बनाइनु पर्दछ ।
४. स्थानीय तह प्रदेश मातहत रहनु पर्दछ र यसको निर्वाचन प्रदेशले गराउने व्यवस्था गर्नु पर्दछ । राजनीतिक दलहरूको भागबण्डा र सत्ता स्वार्थको आधारमा घोषणा गरिएको स्थानीय निर्वाचनको मिति फिर्ता लिनु पर्दछ ।
५. देशमा राजनीतिक स्थीरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नु पर्दछ । सङ्घीय संसद्को निर्वाचन पूर्ण समानुपातिक निर्वाचन प्रणालीका आधारमा गर्नु पर्दछ । र,
६. राज्यका अङ्गहरूमा दलीय भागबण्डाका आधारमा नियुक्तिको प्रचलनलाई खारेज गर्नु पर्दछ र शिक्षा, स्वास्थ्य, सुरक्षाका अङ्ग, कूटनीतिक क्षेत्र जस्ता विषयहरूमा भागबण्डाको राजनीति अन्त्य गर्नु पर्दछ ।
प्रतिक्रिया