आज महाशिवरात्री एवं सेना दिवस

प्रकाशित मिति: १३ फाल्गुन २०७३, शुक्रबार ०६:४२


काठमाडौं, फागुन १३ ।
आज महाशिवरात्री । शिवरात्रीका अवसरमा हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् ।

भगवान् श्री महादेवको दर्शन गर्न र शिवरात्री पर्वको मेला भर्न आज नेपालका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लागेको छ ।

शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामाकरण भएको यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।

यस वर्ष पनि पहिलाकै वर्ष जस्तै लाखौँ भक्तजनले पशुपतिनाथको दर्शन गर्ने अनुमान रहेको पशुपति क्षेत्र विकास कोषले गरेको छ ।

यसैबीच, नेपाली सेनाले महाशिवरात्री तथा सेना दिवसको उपलक्ष्यमा आज सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गर्ने तयारी रहेको छ ।

नेपाली सेनाका विभिन्न टोलीद्वारा मार्चपास, हातहतियार, तोपखानालगायत विकास निर्माणसम्बन्धी गतिविधिबारे कलाकौशल प्रदर्शनसमेत गरिने छ ।

वि. सं. २०४७ सालदेखि नेपाली सेनाले महाशिवरात्रीका दिन सेना दिवस मनाउँदै आएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....