शङ्खरापुर नगरपालिका बचाउन २४ घण्टे रिले अनसन

काठमाडौं, फागुन १३ ।
नागरिक समाज साँखुद्वारा शंखरापुर नगरपालिकालाई यथावत् कायम राख्न माग गर्दै आजदेखि २४ घण्टे रिले अनसन सुरु गरेको छ ।
स्थानीय तह पुनःसंरचना आयोगले सरकारलाई पेश गरेको प्रतिवेदनमा शङ्खरापुर नगरपालिकालाई कागेश्वरी मनोहरा नगरपालिकामा गाभेकोप्रति असन्तुष्ट जनाउँदै काठमाडौंको रत्नपार्कस्थित शान्ति वाटिकामा रिले अनसन सुरु गरेको हो ।
रिले अनसन बस्नेहरूमा राजुभाई मानन्धर, जयराम पुडासैनी, पुरुषोत्तम चौलागाईं, गगन रञ्जित, शङ्कर तिवारी, सरिसा मानन्धर, मञ्जु खड्का, गङ्गादेवी कारञ्जित, दिलिपकुमार श्रेष्ठ, हरिगोपाल श्रेष्ठ, सड्कुमार खतिवडा, ओमबहादुर कार्कीलगायत १५ जना रहेका छन् ।
काठमाडौं क्षेत्र नं. २ का सांसद् दीपकप्रसाद कुइँकेलले अनसनकारीलाई माला र टीका लगाई दिएका थिए । सांसद् कुइँकेलले ऐतिहासिक, सांस्कृतिक र पौराणिक हिसाबले महत्वपूर्ण रहेको साँखुको अस्तित्व मेटाउन खोजिएको भन्दै अनसन बस्न बाध्य भएको बताए ।
उनले प्रधानमन्त्रीसहित शीर्ष नेतालाई ज्ञापन पत्र बुझाउनेदेखि विभिन्न कार्यक्रम गर्दै बन्दसमेत गर्दा पनि सुनुवाई नभएपछि रिले अनसनमा जानु परेको बताए ।
आयोगले सरकारलाई प्रतिवेदन बुझाएको भोलिपल्टै सो क्षेत्रबाट प्रत्यक्ष निर्वाचित सांसद् कुइँकेलको संयोजकत्वमा सबै दलका प्रतिनिधि सदस्य रहेको ‘शङ्खरापुर नगरपालिका बचाऔँ सङ्घर्ष समिति’ गठन गरी आन्दोलन हुँदै आएको छ ।
अनसन आज नेपाली कांग्रेस, भोलि नेकपा (एमाले) र पर्सि आइतबार नेकपा (माओवादी केन्द्र) गरी दिनदिनै छुट्टाछुट्टै दल बस्ने कार्यक्रम तय गरिएको छ ।
http://liveofnepal.net/archives/863
संघर्ष समितिले सोही मागलाई लिएर यहीँ माघ २६ गते बुधबार शालीनदीमा मेला चलिरहँदासमेत बाध्य भएर एकाएक बन्दको आव्हान गरेको थियो ।
प्रतिक्रिया