एकयुगमा आउने अवसर, अभिशाप नबनोस्

नेपाली बाबु
नेपालको जनसंख्याको उमेरगत संरचनालाई हेर्ने हो भने, वृद्धवृद्धा र बालबालिकाभन्दा पनि युवाहरूको संख्या निकै धेरै छ । १५ वर्ष मुनिका बालबालिका र ६० वर्ष माथिका मानिसहरूको तुलनामा १५ वर्षदेखि ५९ वर्ष बीचका मानिसहरूको जनसंख्याको आकार वृद्धि हुँदै गएको पाइन्छ । यसमा पनि १५ देखि ३० वर्षका युवाहरूको संख्या बढ्दै गइरहेको पाइन्छ । वि.सं. २०३८ र ०४८ सालमा भएको जनगणनामा १४ वर्ष मुनिका बालबालिकाको अनुपात बढ्दै गरेको देखिएको थियो भने ०५८ सालदेखि ६८ को जनगणनाको बीचमा आईपुग्दा १५ देखि ५९ वर्षका मानिसहरू बढ्न थाले, त्यसमा पनि १५ वर्षदेखि ३० वर्ष उमेर समूहका मानिसहरूको जनसंख्या बढ्न थालेको पाइन्छ ।
जनसंख्यको यो वर्गबाट राज्यले थोरै लगानी गरेर धेरै फाइदा उठाउन सक्छ । कुनै पनि राज्यका लागि आश्रित बालबालिका र वृद्धवृद्धाहरूको तुलनामा श्रमशील जनशक्ति बढी हुनु खिसिको कुरा हो ।
आज कोरिया, अमेरिका र मलेसियालगायतका कम जनसंख्या भएका देशहरू आफ्नो देशको उद्योग, व्यापार, कल–कारखाना र विकास निर्माण सञ्चालनका लागि नेपाल, भारत, बंगलादेशलगायतका बेरोजगारी समस्या भएका देशहरूबाट श्रमशक्ति मगाई रहेका छन् । जुन देशमा युवाहरूको संख्या कम हुन्छ, त्यो देशमा विकास निर्माणमा आवश्यक श्रम र शीपको अभाव सिर्जना हुन्छ ।
हाम्रो जस्तो विकासशील राष्ट्रहरूको लागि त यो एउटा महत्वपूर्ण अवसरको कुरा पनि हो । यो १५ देखि ३० वर्ष उमेर समूहले आफ्नो परिवार, समाज र राज्यसँग क्षमता अभिवृद्धिका लागि शिक्षा, शीप, विकास र स्वास्थ्य जस्ता पक्षहरूमा यथेष्ट अगानी र रोजगारीका लागि उचित वातावरणको अपेक्षा गरेको हुन्छ । यदि यो उमेर समूहले उचित लगानी र अवसर पाएको खण्डमा मुलुकको आर्थिक अवस्थालाई जुरुक्कै उचालेर उपल्लो खुड्किलामा पुर्याउँछ ।
यदि राज्य समयमै चनाखो र संवेदनशील भएन र उनीहरूको अपेक्षाको सही सम्बोधन गर्न सकेन भने त्यसको उल्टो यो समूह राजनीतिक अतिवाद, अपराधिक क्रियाकलाप वा पलायनवादतिर तानिँदा भोलि समाज अराजकता र अस्थिरताको अवस्थामा उत्पन्न हुन पुग्छ ।
समाजमा बढ्दो अवसरवाद
देशको समाजिक मनोविज्ञानलाई हेर्ने हो भने समाज अहिले पूरै अवसरवादको संक्रमणमा छ । सदियौँदेखिको सामन्तवादी संक्रिण मानसिकतामा रहेको समाजमा राजनीतिक क्रान्तिले समानता, सह–अस्तित्व जस्ता उच्च राजनीतिक चेतना भरिदिँदा र त्यहीँ अनुरूपको राजनीतिक व्यवस्था कायम हुन नसक्दा समाजमा सबैलाई समान अवसर र अधिकारहरू प्राप्त हुन सकेको छैन ।
क्रान्तिबाट आएको व्यवस्थाले उच्च राजनीतिक चेतनालाई सम्बोधन गर्न सक्ने गरी विभिन्न अवसरहरू सिर्जना गर्न सक्यो भने मात्र समाज स्वस्थ प्रतिस्पर्धाको बाटोबाट एउटा नियममा अगाडि बढ्छ । यदि नयाँ आएको व्यवस्थाले उच्च राजनीतिक चेतना भएको वर्गलाई व्यवस्थापन गर्न सकेन भने समाजमा अस्वस्थ्य प्रतिस्पर्धा सुरु हुन थाल्छ । यस्तो अवस्थामा समाजलाई नियमले धान्न सक्दैन ।
गाउँका टोल–टोलमा बढ्दै गरेका ट्यापे–मुन्द्रे समूहहरू, गाउँ–शहरका विकास निर्माण र ठेक्का पट्टामा बढ्दै गरेको डनवाद, चोरी डकैती, संस्थागत अपराध सबै समाजका अवसरवादी चरित्रका उपज हुन् ।
हजारौँ शिक्षित नेपाली युवाहरू उच्च अवसर र बिलासी जीवनशैलीका लागि ग्रीनकार्ड र डिभीका लागि मरेहत्ते गर्नुले पनि नेपाली समाज अवसरवादको पराकाष्ठमा छ भन्ने बुझाउँछ ।
देशमा दिनदिनै बेरोजगारीको समस्या बढ्दै गएको छ । अहिले दैनिक दुई हजारको हाराहारीमा युवाहरू अवसरकै खोजीमा विदेश पलायन भइरहेका छन् । फेरी पनि नेपालमा अहिले युवाहरूको जनसंख्या बढी देखिएता पनि देशमा कुनै अवसर नभएका कारण युवाहरू वैदेशिक रोजगारीका लागि बाहिरिँदा सँगै जन्मान्तर पनि घटिरहेको छ । साथै परिवार नियोजनका विषयमा आएको जनचेतनाले गर्दा पनि अहिले जनसंख्या वृद्धिदर घट्दो छ । भोलि न्यून जनसंख्या वृद्धिदरले गर्दा देशकै जनसंख्या कम हुन जाने देखिन्छ भने अर्कोतिर अहिलेको श्रमशील जनशक्तिको ठूलो हिस्सा भोलि वृद्ध आश्रित जनसंख्यामा परिणत हुने देखिन्छ ।
यसरी भोलिको आश्रित जनसंख्यक भारतलाई सन्तुलित गर्नको लागि अहिलेको जनसंख्यक अवसरलाई सदुपयोग गर्नतर्फ ध्यान पुर्याउनु पर्ने देखिन्छ ।
अतः
देशमा युवाहरूको संख्या बढी हुनु देशको समृद्धि र शक्तिको लागि खुसीको कुरा हो । तर, राज्यले उद्योग, बाणिज्य र व्यापारमा अनुकूल वातावरण मिलाउन सकेन र रोजगारीका अवसर सिर्जना गर्न सकेन भने यिनै युवाहरू भोलि ठूलो समस्या बन्न सक्छन् । नीति निर्माताहरूले समयमै ध्यान पुर्याउन् ।
प्रतिक्रिया