संविधान संशोधन विधेयक कुनै हालतमा पारित हुँदैन : उपनेता नेम्वाङ

धनकुटा, फागुन १६ ।
प्रमुख विपक्षी दल नेकपा (एमाले) स्थायी कमिटीका सदस्य एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संविधान संशोधन विधेयक कुनै पनि हालतमा पारित नहुने दाबी गरेका छन् ।
एमाले धनकुटाले आज डाँडाबजारमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उपनेता नेम्वाङले संविधान संशोधनका पक्षधर समूहको संख्या दिनानुदिन घट्दै गएको तथा राप्रपाले समेत विपक्षमा मतदान गर्ने भएकाले विधेयक पारित नहुने निश्चित रहेको उनको भनाई थियो ।
उनले भने, ‘देशको अवस्था जटिल मोडमा रहेकाले एमाले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न तत्पर छ, आगामी २०७४ माघभित्र तीन वटै तहको निर्वाचन सम्पन्न गर्न हामी सरकारलाई खबरदारी गर्छौं ।’
मधेश केन्द्रित दल सत्ता समर्थक रहेर संविधानको विरोध गर्नुमा कुनै तुक नभएको उनको भनाई रहेको छ ।
प्रतिक्रिया