प्रधानमन्त्री दाहालद्वारा मधेशी मोर्चालाई सहमतिमा आउन आग्रह

काठमाडौं, फागुन १७ ।
संविधान संशोधन प्रक्रिया, स्थानीय तहको निर्वाचन र सहमतिका आधारका विषयमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आबद्ध दलका नेताहरूसँग छलफल गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले सहमतिमा आउन पुनः आग्रह गरेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ भएको छलफलमा प्रधानमन्त्री दाहालले हाल सहमति हुन सक्ने विषयमा सहमति गरेर स्थानीय तहको निर्वाचन प्रक्रिया अगाडि बढाउन र सहमति हुन नसकेका विषयमा विस्तारै सहमति जुटाउँदै जाने भएकाले त्यसमा सहयोग गर्न आग्रह गरेका हुन् ।
स्थानीय तह पुनःसंरचनाको अन्तिम टुङ्गो, संविधान संशोधन प्रस्ताव र त्यसमा मधेशी मोर्चाको भूमिका तथा स्थानीय तहको निर्वाचनका विषयमा नै केन्द्रित भएर मोर्चाका नेतासँग प्रधानमन्त्रीले आफ्नो धारणा राखेको र मुलुकलाई अगाडि बढाउने विषयमा सहमति गर्न आग्रहसमेत गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
छलफलमा प्रधानमन्त्रीले स्थानीय तहको निर्वाचन गरेर संविधान कार्यान्वयनमा नजाने हो भने सङ्घीयता नै उल्टिन सक्ने खतराप्रति मोर्चाका नेताको ध्यानाकर्षण गराएका थिए । संविधान संशोधन प्रस्तावलाई अन्तिम टुङ्गोमा लैजान मोर्चाका नेताको सुझाव माग्दै प्रधानमन्त्री दाहालले सरकार संशोधन प्रस्तावप्रति गम्भीर र प्रतिबद्ध रहेको स्पष्ट पारे ।
भेटमा मोर्चाका नेताले संविधान संशोधन प्रक्रिया र स्थानीय तहको प्रतिवेदनबारे आफ्नो चासो राख्दै मोर्चाकातर्फबाट भने पहिले संशोधनको प्रक्रिया अगाडि बढेका खण्डमा आफूहरू निर्वाचनका लागि तयार रहेको धारणा राखिएको सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
बैठकमा मोर्चाले प्रदेश मातहत स्थानीय निकायलाई राख्नुपर्ने, नयाँ प्रदेश बनाउन परे सहज प्रावधान राख्नुपर्ने तथा स्थानीय निकायमा राख्नुपर्ने विशेष तथा स्वायत्त क्षेत्रको शीघ्र निर्धारण गर्नुपर्ने धारणा राखेको बताइएको छ ।
प्रतिक्रिया