प्रधानमन्त्री दाहालद्वारा चीनियाँ राजदूत र भारतीय राजदूतबीच भेटवार्ता

काठमाडौं, फागुन १७ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ व नेपालका लागि चीनियाँ राजदूत यु होङले भेटवार्ता गरेका छन् । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री र होङबीच स्थानीय निर्वाचन र नेपालको पूर्वाधार विकासका विषयमा कुराकानी भएको जनाएको छ ।
भेटवार्तामा प्रधानमन्त्रीले नेपालको पूर्वाधार विकासको क्षेत्रमा चीनले गरेको सहयोगका लागि धन्यवाद दिँदै विकासका क्षेत्रमा चीनको थप सहयोग रहने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले नेपाल र चीनबीच कनेक्टिभिटी, पूर्वाधार विकास र पूर्व सम्झौताहरूको कार्यान्वयन प्रभावकारी रूपमा अगाडि बढिरहेको बताएका थिए ।
प्रधानमन्त्री दाहालले स्थानीय तहको निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयनलाई मूर्त रूप दिने प्रक्रियामा रहेको जानकारी दिँदै त्यसका लागि चीनको सकारात्मक सहयोग रहने विश्वास व्यक्त गरेका थिए । भेटमा प्रधानमन्त्रीले वान बेल्ट, वान रोडअन्तर्गतका विकासका कार्यक्रमहरू अगाडि बढ्ने विश्वास समेत व्यक्त गरेका थिए ।
भेटवार्तामा चीनियाँ राजदूत होङले नेपाल र चीनबीचको सम्बन्ध धेरै हार्दिक रहेको बताउँदै नेपालको पूर्वाधार विकासका कार्यक्रमहरू सकारात्मक रूपमा अगाडि बढिरहेको र आउँने दिनहरूमा थप तिब्रता दिइने बताएका छन् । नेपालको राजनीतिक र संविधान कार्यान्वयनको प्रक्रिया सकारात्मक दिशामा अगाडि बढेको बताउँदै होङले त्यसमा चीनको सदैव सद्भाव रहने बताएका छन् ।
त्यस्तैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका लागि भारतीय राजदूत रञ्जित रायले आफ्नो कार्यकाल पुरा गरी दिल्ली फर्कन लागेका हुनाले बालुवाटारमा प्रधानमन्त्रीसँग औपचारिक बिदाइ भेट गरेका छन् ।
भेटका क्रममा प्रधानमन्त्रीले राजदूत रायको कार्यकाल प्रभावकारी र सन्तुलित रहेकोमा धन्यवाद दिँदै नेपाल र भारत बीचको सम्बन्ध थप प्रगाढ र घनिष्ठ बन्ने विश्वास व्यक्त गरेका छन् ।
भेटमा राजदूत रायले आफ्नो कार्यकालमा नेपाल सरकार र नेपाली जनताबाट सकारात्मक सहयोग पाएकोमा खुसी व्यक्त गर्दै त्यसका लागि नेपाललाई धन्यवाद दिएका थिए । भेटमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. ऋषिराज अधिकारी, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुङ्गाना लगायतको उपस्थित रहेको थियो ।
प्रतिक्रिया