‘धन देखेपछि महादेवका पनि तीन नेत्र’ भएपछि साझा डुब्दै !

प्रकाशित मिति: १६ श्रावण २०७४, सोमबार १०:०८


– गोविन्द शर्मा
चम्किलो सूर्यका किरणहरूमा राज गरिरहेको साझा प्रकाशनमा पछिल्ला दुई दशक धेरै काला बादल मडारिए । यसबीचमा धेरैपटक हावाहुरी र हुण्डरी आयो, दर्जनौं चट्याङ परे । आँखा झिम्क्याउनै नमिल्ने गरी पर्ने पानीले साझा डुबाउने गरीको भेलबाढी पनि पस्यो । साझाको ‘सीप (पानीजहाज)’ ले समुद्रको बीचमा पुगेपछि बाटो बिरायो, कुहिरोको बीचमा हराएको काग झैँ भयो साझा ।

श्रष्टाको नेपालमा कुनै मूल्य छैन । यति नै योगदान गर्ने जोकोही श्रष्टा युरोप, अमेरिकालगायतका देशमा शानदार जीवन जिउन सक्छ । पुस्तकको रोयल्टीबाटै भव्य महलमा गाडीसहित राज गर्छ । त्यो भव्य घरमा कम्तीमा एउटा पूरै फ्ल्याट पुस्तकालय बनाउने हैसियत राख्छ । तर, नेपालमा एउटा नाम कहलिएको श्रष्टा जीवनभर हाड घोटिरहन्छ तर, उ रोयल्टीबाट दुई छाक भनेजस्तो खान सकिरहेको छैन । निजी प्रकाशक त लेखकलाई जतिसक्दो बढी चुस्ने ‘जुका’ र ‘भ्यात्लुङ’ कै पर्यायवाची भएका छन् नै ।

यस्तो अवस्थामा श्रष्टाका पुस्तक प्रकाशन गरी नियमित रोयल्टी तिर्दै आएको र सोही संस्थामा शेयर हालेर अंशीयार समेत बन्ने अवसर प्रदान गरिएको सरकारी तवरको ऐतिहासिक ‘साझा प्रकाशन’ पनि यसरी डुब्ने अवस्थामा पुग्नुले श्रष्टामा कति हदसम्म निराशाको कालो बादल मडारिइरहेको छ, त्यसको अनुमान सरकारले गर्न सकेको होला ? ‘मन परेको केटो जेठाजु प¥यो…’ भने झैं भएपछि श्रष्टा यतिबेला (झण्डै दुई दशकदेखि) खति खङ्रङ्ग भएका होलान् ?

आठ वर्षदेखि साधारण सभा हुन सकेको थिएन । ११ वर्षदेखि लेखा परीक्षण भएको थिएन । चार वर्षदेखि लेखा राख्ने काम पनि भएको थिएन । साझाका प्रेसले छाप्न छोडेका थिए । पुस्तक भण्डारको गति दुर्गति बनेको थियो । संसार छोडेर गएका मुलुकका मुर्धन्य वरिष्ठ साहित्यकारहरूका कृति कुहिँदै थिए । एकातिर पाठक र शुभचिन्तकहरू बजारमा ती अमूल्य कृतिको खोजीमा थिए भने अर्कोतिर आफैँ हातखुट्टा चलाउन नसक्ने अवस्थाको साझाले त्यो खोजीलाई टुलुटुलु हेरिरहेको थियो । साझाका तत्कालीन अध्यक्ष तथा महाप्रबन्धकहरू ‘साझा बचाउ होइन आफूलाई प्रशस्त कमाउ’ को अभियानमा आँखा चिम्लिएर लागेका थिए । आफ्नालाई भर्ति गर्ने र केही कर्मचारीलाई काखी च्यापेर अरूलाई पाखा लगाउने प्रवृत्ति देखाएर साझामा काम गर्ने वातावरण धुमिल्याउँदै जान थाले । काम गर्ने कर्मचारीमा पनि ‘सरकारी काम कहिले जाला घाम’ को सोचले प्रश्रय लिन थाल्यो ।

यीलगायतका दर्जनौँ चुनौतीबीच साझा प्रकाशनको डुबेको ‘सीप’ उठाउँछु र विगतकै गतिमा त्यसलाई सञ्चालन गर्छु भन्ने अठोट र प्रण लिएर २०७१ माघ ५ गते डोलिन्द्रप्रसाद शर्मा अध्यक्ष तथा महाप्रबन्धक बनेर ललितपुरको पुल्चोकस्थित साझाको प्राङ्गणमा पुगे । चार वर्षदेखिको लेखालाई दुरुस्त पारे, आठ वर्षदेखि हुन नसकेको साधारण सभालाई दोश्रो प्रयासमा सफल बनाए र रिक्त तीन सञ्चालक निर्वाचित भएर आए । अझ ठूलो काम ११ वर्षदेखि हुन नसकेको लेखा परीक्षण पनि गराए ।

प्रवेश गर्दा कामकारबाहीका लागि साझाको खातामा रकम नहुँदा सवा करोड रुपैयाँ ऋण खोजी काम अघि बढाए । अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा परेका कति उजुरीबाट सफाई पाउने काम पनि उनले गरे । साझा प्रकाशन धराशायी बनेपछि र अधिकांश कर्मचारीमा काम गर्ने वातावरण नभएपछि उनले एक सय ३३ स्थायी र ४४ करार र अस्थायीलाई अवकाश दिए । कामलाई निरन्तरता दिन हाल करारमा ८६ कर्मचारीलाई नियुक्ति दिए । यतिबेला पुराना र नयाँ गरी एक सय ४४ कर्मचारी कार्यरत छन् ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट डोलिन्द्रले प्रचण्ड सरकारको पालामा नेतृत्व सम्हाले र सोही सरकारमार्फत् २०७२ मंसिरमा २० करोड ऋण र १० करोड अनुदान गरी ३० करोड भित्र्याए । जसमा १४ करोड १३ लाख जनक शिक्षा सामग्रीलाई सोझै निकासा गरिएकाले १६ करोडमा चित्त बुझाएर काम गर्नुपर्‍यो । उसो त साझाले केन्द्रलाई तिर्नुपर्ने रकम नै हो त्यो । साझाले यसबीच, शर्मामार्फत् डुबेको जहाजलाई उठाएको छ र जहाज स्टार्ट गरी केही अघि बढ्दै गरेको अवस्थामा पुर्‍याएका छन् ।

‘धन देखेपछि महादेवका पनि तीन नेत्र’ भने झैँ हुन थाल्यो पुनः साझामा । कर्मचारी भर्नामा आफन्त घुसाइन थाले । धन र पदको पछि लाग्ने हाम्रो समाजमा कसैलाई जागीर खुवाउनु ठूलै काम हुन्छ । अध्यक्षले पनि आफूलाई काम लाग्ने मान्छेलाई रिझाउन तिनका मान्छेलाई जागीर खुवाउन थाले । साझा प्रवेश गर्दा ‘योग्य’ र ‘हाम्राभन्दा राम्रा’ कर्मचारी मात्र राख्ने भनी पहिलो पत्रकार सम्मेलनमा ‘भिजन’ बताउनेलाई मात्र नियुक्ति दिने र काम नगरे ‘तत्काल बर्खास्त’ गर्ने घोषणा गरे तर, अहिले उनी आकाशतर्फ फर्केर ‘थुकेको थुक’ आफैँ निलिरहेका छन् । ‘पर्ख र हेर’ को अवस्था छैन, सानो चित्त नबुझे त्यसको गहिराई बुझेर त्यो कर्मचारीलाई काम गर्ने वातावरण र प्रोत्साहन दिनुको सट्टा चारतिर सार्ने र निरुत्साहित पार्ने काम गरिरहेका छन् । केहीलाई काखी च्यापेका छन् । दुई वर्ष बितेको अवस्थामा दोश्रो कार्यकालका लागि चार वर्ष थपाएका शर्माले गरेको कर्मचारी नियुक्तिबारे निष्पक्ष छानबिन होस् भनी चर्को आवाज सार्वजनिक भइसकेको छ ।

आफन्तलाई खुसी पार्न डोलिन्द्रले विचारका आधारमा र फाइदा लुट्ने स्वार्थमा तिनका कृतिहरू छानीछानी प्रकाशन गरिरहेका छन् । जसको गुणस्तरमा उनलाई कुनै मतलब छैन तर पाठकले त त्यसको मूल्यांकन गरेकै हुन्छन् नि भन्ने उनलाई महशुससम्म छैन । साझामा काम गर्ने सवारी चालकलाई सञ्चालक समेतले निजी प्रयोग गरिरहेका छन् । शर्माले प्रकाशनमा आफ्नै अक्सफोर्डलाई अल्पाइन बनाएर सोही प्रकाशन गृहबाट साझाका करोडौंका काम गराइरहेका छन् ।

भ्रष्टाचार सबै सार्वजनिक नहुन सक्छ । देखिने ‘दाँत’ राम्रा र चम्किला हुनसक्छन् तर, चपाउने ‘दाँत’ देखिएजस्ता नहुन सक्छन् । शर्माले डुबेको साझालाई प्रवेश गर्दा गर्दै गरेको पत्रकार सम्मेलनमा र त्यसलगत्तै बनाएको तत्काल गर्ने र मध्यम तथा दीर्घकालीन योजनालाई प्रतिबद्धता देखाएअनुसार गरेर आफ्नो कार्यकाललाई ‘स्वर्ण’ बनाएको भए उनको नाम योगदानसरह इतिहासमा ‘स्वर्ण अक्षर’ ले लेखिन्थ्यो नै । तर, उनले पनि विगत दुई दशकका अध्यक्ष र महाप्रबन्धककै पथ पछ्याउन खोजेको केही घटना र प्रसङ्गले आभास दिइसकेका छन् । यस्तै गति पछ्याए भने र साँघुरो मानसिकतामा व्यक्तिगत स्वार्थ पूर्तिमा लागे र ‘कमाउ धन्दा’ मा लागे भने साझा प्रकाशन फेरी यसअघि झैँ समुद्रमा ‘डुब्ने’ मा कुनै शंकै छैन । डोलिन्द्रलाई भगवान्ले समयमै ‘विशेष’ बुद्धि दिउन्, सबै श्रष्टा र सरोकारवालाको तर्फबाट कामना ।


प्रतिक्रिया

ताजा खबर

More

आइतबार देशभर सार्वजनिक बिदा दिने निर्णय

काठमाडौं, चैत २२ । सरकारले आइतबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले.....