नयाँ शक्तिका संयोजक भट्टराईले राखे निर्वाचनका लागि यस्तो शर्त

काठमाडौं, फागुन १७ ।
नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले परिमार्जनसहित संविधान संशोधनको विषयलाई टुङ्ग्याउनु निर्वाचनको पहिलो शर्त भएको बताएका छन् ।
नयाँ शक्ति नेपालद्वारा आज आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने, ‘सबैलाई निर्वाचनमा सहभागी बनाउन सरकारले संशोधनलाई टुङ्ग्याउनै पर्छ । यसमा हेलचक्र्याईं गर्न हुँदैन, विषयको गम्भीरता बुझ्नुपर्छ ।’
आफ्नो पार्टीले निर्वाचनका लागि आन्दोलनरत पक्षलाई समेटौँ भनेर बारम्बार भनेको उल्लेख गर्दै उनले मूलतः मधेशी, थारू र आदिवासी जनजाति संविधानसँग असन्तुष्ट भएकाले उनीहरूलाई सहमतिमा लिन जरुरी भएको बताए ।
स्थानीय तह, स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्रको टुङ्गो नलगाई गरिने निर्वाचनले गति नलिने भन्दै उनले सरकारले स्थानीय तहको संख्या र सीमानाको कुरा पहिले हल गर्नुपर्नेमा जोडसमेत दिए ।
निर्वाचन गर्न प्रत्यक्ष, अप्रत्यक्ष रु. २० अर्बभन्दा धेरै खर्च हुने उल्लेख गर्दै उनले आगामी २०७४ साल माघ ७ गतेसम्ममा सबै निर्वाचन गरिसक्नुपर्ने संवैधानिक प्रावधानलाई विचार गरेर तीन वटै निर्वाचन एकसाथ गर्नु उपर्युक्त र व्यावहारिक हुने धारणा व्यक्त गरे ।
प्रतिक्रिया