नारायणगढ–मुग्लिन सडक आजबाट चार घन्टा रोकिने, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध

प्रकाशित मिति: ७ पुष २०७३, बिहीबार ०५:४५


७ पुस, चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक चारघन्टा रोकिने भएको छ । विस्तारका लागि बिहान ११ देखि दिउँसो ३ बजेसम्म दैनिक चारघन्टा सडक आवागमन रोकिने भएपछि वैकल्पिक मार्गको प्रयोग गर्न नारायणगढ–मुग्लिन सडक आयोजनाले आग्रह गरेको छ ।

सो सडकखण्डको सबैभन्दा संवेदनशील र कठिन ठाउँमा सडक विस्तार गर्न लागिएकाले रोकिएको समय अघिपछि पनि ट्राफिक जामका कारण यात्रुले दुःख पाउने र सडक विस्तारमा अवरोध हुने हुँदा वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरिएको हो । सो सडकको मुग्लिनदेखि कालीखोलासम्मको दुई किलोमिटर भागमा सडक चौडा गरिँदैछ ।

आयोजनाका इन्जिनियर शिव खनालका अनुसार सो क्षेत्रमा ५.५ मिटर मात्रै सडक चौडा छ । जहाँ विस्तार गरेर सडक १० मिटर फराकिलो बनाइँदैछ । त्यसका लागि भित्ता काट्नुको विकल्प नरहेको भन्दै उहाँले एकसय ५० फिट अग्लो पहाडलाई काटेर सडक चौडा गरिने बताउनुभयो । यहाँ कडा चट्टान रहेका छन् । खनालका अनुसार एउटा ब्रेकरले दैनिक ५० देखि ६० घनमिटर मात्रै चट्टान काट्न सक्छ ।

यसैगरी, सडकको १६ किलोमा पाँचसय मिटर र घुमाउनेमा दुईसय मिटर लामो डाँडो नै काट्नुपर्ने हुन्छ । यसका लागि आयोजनाले स्थानीय प्रशासनसँग दैनिक आठ घन्टा सडक रोक्न माग गरेको भएपनि ट्राफिक व्यवस्थापन गर्न कठिन हुने भन्दै आजदेखि बिहान ११ देखि दिउँसो तीन बजेसम्म मात्रै चार घन्टा आवागमन रोक्न अनुमति दिएको छ । सडक विभागको योजना तथा डिजाइन महाशाखाले गरेको सर्वेक्षणअनुसार सो सडक हुँदै दैनिक ६ हजार एकसय ७७ हाराहारीमा सवारी आवागमन हुने गर्दछ ।

दिउँसो चार घन्टाको समयमा सो सडक हुँदै जाने एकहजार चारसय २६ सवारीसाधन अर्थात् २३.०९ प्रतिशत सवारीसाधन प्रभावित हुने देखिन्छ । यसका अतिरिक्त अन्य समयमा हुने सवारीको चाप त्यत्तिकै रहन्छ जसका लागि वैकल्पिक मार्गको विकल्प नभएको आयोजनाले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

समाजलाई ऊजागर गरी विकृति र विसंगतिविरुद्ध आवाज उठाउन आवश्यक : डा. पुष्पराज राजकर्णिकार (फाेटाेफिचर)

काठमाडाैं, चैत २३ । नेपालभाषा एकेडेमीका भाइस चान्सलर, साहित्य समालाेचक एवं नेपाल राष्ट्र.....

पपुवा न्यू गिनीना ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प

एजेन्सी, चैत २३ । पपुवा न्यू गिनीको.....