कसैको इच्छाविपरीत होली खेले हुन्छ यस्तो कारबाही

काठमाडौं, फागुन २१ ।
गत वर्ष जस्तै यस वर्ष पनि गृह मन्त्रालयले कसैको इच्छाविपरीत होली खेले नेपालको प्रचलित कानूनबमोजिम कारबाही हुने सूचना जारी गरेको छ ।
गृह मन्त्रालयले फागु पूर्णिमा पर्वमा अर्काको इच्छाविपरीत जबर्जस्ती रङ्ग दल्ने, प्लाष्टिक जन्य लोला हान्ने, फोहोर पानी वा केमिकल मिसाएको पानीले छ्याप्ने तथा महिला, बालबालिकालगायत बाटोमा हिँड्ने व्यक्तिहरूलाई दुःख दिने, हैरानी वा कष्ट दिने जस्ता कार्य नगर्न सबैलाई आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीद्वारा आज जारी गरेको प्रेस विज्ञप्तिमा त्यस्तो काम कोही कसैले नगर्न, नगराउन र वातावरण तथा जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने लोलाको आयात र बिक्री वितरण नगर्नसमेत आग्रह गरेको छ ।
यस वर्ष पहाडी जिल्लामा यहीँ फागुन २९ गते र तराईका जिल्लामा ३० गते फागु पूर्णिमा मनाइँदैछ ।
प्रतिक्रिया