‘मधेशी मोर्चासहित स्थानीय तहको निर्वाचन तोकिएको समयमा हुन्छ’ : प्रधानमन्त्री दाहाल

विराटनगर, फागुन २२ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले मधेशी मोर्चासहितको सहभागितामा तोकिएकै समयमा स्थानीय तहको निर्वाचन सम्पन्न हुने दाबी गरेका छन् ।
आइतबार विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले मधेशी मोर्चासँग जारी संवाद सकारात्मक रहेको भन्दै मधेशी मोर्चाको सहभागितामा तोकिएकै समयमा चुनाव हुने दाबी गरेका हुन् ।
स्थानीय तहको संख्या थप गरेर वा अन्य कुनै तरिकाले मधेशी मोर्चासँग सहमतिको छलफल भइरहेको प्रम दाहालको भनाइ थियो । प्रम दाहालकाअनुसार, ‘वर्तमान सरकारको कोशिस भनेको हिमाल, पहाड र मधेशलाई मिलाएर मोर्चा, थारू, आदिवासी जनजातिको समस्या पनि समावेश गरेर सबैलाई सहभागी गराएर संविधान कार्यान्वयन गर्ने नै हो ।’
स्थानीय तहको निर्वाचनपछि पनि संविधान संशोधन गर्न सकिन्छ भन्दै सबै दलको सहमतिमा संशोधन प्रक्रियालाई निश्कर्षमा पुर्याउन सरकार प्रयत्नशील रहेको प्रम दाहालले उल्लेख गरे ।
प्रतिक्रिया