स्थानीय तहको संख्या सात सय चवालीस कायम गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, फागुन २३ ।
सरकारले स्थानीय तहको संख्या सात सय ४४ कायम गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले स्थानीय तह पुनःसंरचना आयोगले प्रस्तुत गरेको प्रतिवेदनलाई सामान्य परिमार्जन गरी उक्त संख्या कायम गरेको सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले बताएका छन् । आयोगले स्थानीय तहको संख्या सात सय १९ कायम गरेको थियो ।
मन्त्रिपरिषद्को उक्त निर्णय राजपत्रमा सूचना प्रकाशन गरी सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले निर्वाचन आयोगमा पठाउने जानकारी पनि उनले दिए ।
सबै पक्षलाई निर्वाचनमा सहभागी गराउन तथा राजनीतिक समझदारीका आधारमा स्थानीय तहको संख्या र संरचनाबारे सरकारले अझै आवश्यक निर्णय लिने निर्णय गरेको मन्त्री पाण्डेले बताए ।
प्राविधिक सहयोग समितिले गरेको निर्णयका आधारमा खोटाङ र नुवाकोटको समस्या समाधान गर्ने तथा मनाङमा संविधानको भावनाअनुसार तीनको सट्टा चार वटा ईकाइ बनाउने र बझाङको काँडा गाविसमा एउटा ईकाइ थप गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको उनले बताए । काठमाडौंका शङ्खरापुर र दक्षिणकाली नगरपालिकालाई यथावत राखिने पनि निर्णय भएको छ ।
त्यसैगरी, बैठकले निर्वाचनको तयारी गम्भीर ढङ्गले अगाडि बढिरहेका बेला कर्मचारीलाई बन्द, हड्तालमा प्रतिबन्ध लगाउने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया