मधेशी मोर्चाद्वारा आज र भोलि दुई दिने मधेश बन्दको घोषणा

काठमाडौं, फागुन २४ ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सोमबार दिउँसो सप्तरीमा भएको घटनाप्रति भत्र्सना गरेको छ ।
सोमबार बेलुका सङ्घीय समाजवादी फोरम नेपालको पार्टी कार्यालय तीनकुनेमा बसेको आकस्मिक संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठकले सप्तरीमा जनताले गरिरहेको शान्तिपूर्ण विरोध कार्यक्रमको सिलसिलामा प्रहरीले दमनकारी कार्य गरी सञ्जन मेहता, दीगम्बर यादव, पीताम्बर लाल मण्डल र आनन्द साहलाई गोली हानेर हत्या गर्नुका साथै दर्जनौंलाई घाइते बनाएको घटनाप्रति मोर्चाले घोर निन्दा एवं भत्र्सना गर्दछ मोर्चाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ ‘यस्तो घटनाले मानवअधिकार र अन्तर्राष्ट्रिय मानवीय कानूनको समेत उल्लङ्घन गर्ने कार्य भएको छ, राज्य पक्षबाट हुने यस्तो गैर लोकतान्त्रिक एवं अमानवीय हिंसात्मक कार्यको मधेशी मोर्चा घोर निन्दा एवं भत्र्सना गर्दछ ।’
त्यसैगरी, मोर्चाले घाइते भएकाको तत्काल स्वास्थ्योपचारका साथै हत्यामा दोषी रहेकालाई तुरुन्त कारबाही गर्नुपर्ने मागसमेत गरेको छ । बैठकले नेकपा (एमाले) का केही शीर्ष नेताले मधेश र मधेशीविरुद्ध गैर जिम्मेवार, भड्काउपूर्ण एवं उत्तेजक अभिव्यक्ति नै यस घटनाको मुख्य कारक तत्व रहेको ठहर गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘मधेशमा भइरहेको हिंसा, हत्याको विरोधमा यही फागुन २४ र २५ गते दुई दिन मधेश बन्द गर्ने निर्णय गरेको’ जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया