वीरगञ्जमा एकाबिहानैदेखि तनावपूर्ण आवस्था, गाडीमाथी तोडफोड, सुरक्षाकर्मी तैनाथ

वीरगञ्ज, फागुन २४ ।
सप्तरीमा सोमबार मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच भएको झडपका क्रममा चार जनाको ज्यान गएपछि मधेशका विभिन्न जिल्लामा आज बिहानैदेखि तनावपूर्ण अवस्थाको श्रृजना भएको छ । पर्सा जिल्लाका विभिन्न स्थानमा मधेशी मोर्चाका कार्यकर्ता सडकमा उत्रिएर नारासहित धर्ना दिइरहेका छन् ।
वीरगञ्जमा मधेशी मोर्चाका कार्यकर्ताले टायर बालेर प्रदर्शन गरिरहेका छन् । ‘अवस्था तनावपूर्ण रहेको छ,’ जिल्ला प्रहरी कार्यालयका एक अधिकारीले भने, ‘दुःखद् घटना भने भएको छैन ।’ मोर्चाको बन्द आव्हान उल्लंघन गरेको भन्दै केहीँ गाडीमा तोडफोडसमेत भएको छ ।
मुख्य सडक चोक वरपर मोर्चाका कार्यकर्ताको ठूलो भीड जम्मा भएको छ । उनीहरूले नाराबाजी गरिरहेका छन् । नेकपा एमालेको मेची–महाकाली राष्ट्रिय अभियानको विरोध गर्ने मधेशी मोर्चाका कार्यकर्तामाथी प्रहरीले गोली चलाएका थिए । गोली प्रहारबाट अहिलेसम्म चार जनाको ज्यान गइसकेको छ । घटनापछि मधेशी मोर्चाको आकस्मिक बैठकले आज र भोलिको लागि मधेश बन्दको आव्हान गरेको थियो । यता सप्तरीमा भने अनिश्चितकालीन बन्दको आव्हान गरिएको छ ।
प्रतिक्रिया