तीन दिन स्थगित भएको एमालेको अभियान २७ गते हेटौंडाबाट सुरु हुने

काठमाडौं, फागुन २४ ।
नेकपा एमालेको मेची–महाकाली राष्ट्रिय अभियानको क्रममा मोर्चा र प्रहरीबीच झडप भएपछि तीन दिनसम्मका लागि स्थगित गरिएकोमा फेरी फागुन २७ गतेदेखि हेटौंडाबाट सुरु गरीने भएको छ ।
झापाको कांकडभिट्टाबाट सुरु भएको एमालेको कार्यक्रममा सोमबार सप्तरीमा मधेशी मोर्चाको कार्यकर्ता र प्रहरीबीच झडप हुँदा चार जनाको मृत्यु भएपछि स्थगित गरिएको हो ।
पार्टी मकवानपुर जिल्ला सचिव एकालाल श्रेष्ठकाअनुसार मधेशी मोर्चाको आवरणमा मुलुकलाई जबर्जस्ती मुठभेडतर्फ धकेलेर निर्वाचन हुन नदिने र संविधानलाई असफल पार्ने षड्यन्त्रका कारण घटना भएको दाबी गरेका छन् ।
‘हाम्रो पार्टीले मुलुकलाई जबर्जस्ती मुठभेडतर्फ धकेलेर निर्वाचन हुन नदिने र अन्ततः संविधानलाई असफल पार्ने षड्यन्त्र हुँदै आएको विश्लेषण विगतका दिनहरूमै गरेको थियो । उक्त घटनाले मधेशी मोर्चाको आवरणमा भइरहेका षड्यन्त्रकारी र विध्वंसात्मक गतिविधिलाई पुष्टि गरेको छ,’ सचिव श्रेष्ठले बताएका छन् ।
नेकपा एमाले मकवानपुरले सोमबार विशेष बैठक बोलाएर अभियानका बारेमा छलफल गरेको थियो । करिब एक हजार जनाको सहभागीमा अभियान टोलीलाई आवासको तयारी पूरा गरेको श्रेष्ठले जानकारी दिएका थिए । नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पार्टीका बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्रीहरू झलनाथ खनाल र माधवकुमार नेपाललगायत नेताले हेटौंडामा फागुन २७ गते हुने कार्यक्रममा सम्बोधन गर्ने उहाँले बताएका छन् । फागुन २७ गते हेटौंडा पुग्ने टोली फागुन २८ गते बिहान नै चितवनतर्फ लाग्नेछ ।
हेटौंडाको सभामा राष्ट्रिय तथा स्थानीय कलाकारको विशेष प्रस्तुति रहने प्रचार विभाग प्रमुख श्रेष्ठले जानकारी दिएका छन् । अभियान प्रचारप्रसारका लागि पर्चा पम्प्लेट, घरदैलो अभियानलाई तीव्रता दिइएको छ । पार्टी जिल्ला अध्यक्ष मुनु सिग्देलको सभाध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य केदार न्यौपाने, केन्द्रीय सदस्य एवम् जिल्ला इञ्चार्ज विरोध खतिवडा, सांसद् अनन्त पौडेल, उपाध्यक्ष बद्रि लम्साल, सचिव श्रेष्ठ, ३ नम्बर प्रदेश कमिटी सदस्य रामेश्वर रानासहित मोर्चा प्रमुख श्रीधर पोखरेललगायत जिल्ला र क्षेत्र तहका नेताहरूको सहभागीता रहेको थियो ।
प्रतिक्रिया