स्थानीय निर्वाचनको वृहत तयारी गर्दै कांग्रेस शीर्ष नेता २ नं प्रदेशमा

काठमाडौं, भाद्र २७ ।
नेपाली कांग्रेसले प्रदेश नं २ मा आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा अत्याधिक सीट ल्याउने योजनाका साथ तीव्र तयारी थालेको छ ।
प्रदेश नं २ का १३६ स्थानीय तहमध्ये सय भन्दा बढी तहमा जित्ने रणनीतिका साथ कांग्रेसले यो निर्वाचनलाई प्रतिष्ठाको विषय बनाएको कांग्रेस नेता एवं कृषि विकास मन्त्री रामकृष्ण यादवले बताए ।
निर्वाचनमा पार्टीका पक्षमा माहोल बनाउन पार्टीका शीर्ष नेताले आजदेखि प्रदेश नं २ का आठवटै जिल्लाका चुनावी सभालाई सम्बोधन गर्न सुरु गरेका केही दिनदेखि निर्वाचनको तयारीमा खटिएका मन्त्री यादवले जानकारी दिए ।
पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशांक कोइरालालगायत शीर्ष नेताहरूले आजदेखि प्रदेश नं २ का सबै जिल्लामा कार्यकर्ता भेटघाट र चुनावी सभालाई सम्बोधन गर्न सुरु गरेका छन् ।
यतिखेर प्रदेश नं २ मा प्रमुख दल कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले दुईसाता अघिदेखि नै निर्वाचन प्रचार अभियानअन्तर्गत चुनावी सभा, घरदैलो भेटघाट र छलफललाई तीव्र पारिरहेका सन्दर्भमा मधेश केन्द्रित दलहरू पनि पहिलो हुने रणनीतिका साथ निर्वाचनमा होमिएका छन् ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल, नेपाल लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरम नेपाललगायत तराई मधेस केन्द्रित पार्टीको चुनावी प्रचारले निर्वाचन माहोल ह्वात्तै तातेको छ ।
प्रतिक्रिया