सप्तरी घटनालाई लिएर प्रम दाहालले मधेशी मोर्चासँग छलफल गर्दै

प्रकाशित मिति: २५ फाल्गुन २०७३, बुधबार ०९:५३


काठमाडौं, फागुन २५ ।
नेकपा (एमाले)को ‘मेची–महाकाली राष्ट्रिय अभियान’ जारी रहेको समयमा सप्तरीमा भएको दुःखद् घटनापश्चात् रुष्ट बनेको मधेशी मोर्चाका नेताहरूसँग प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा घटनाको समिक्षा गर्दै सहमतिमा ल्याउन छलफल गर्ने भएका छन् ।

सप्तरीमा सोमबार मोर्चाका कार्यकर्ता र प्रहरीबीचको दोहोरो भिडन्तमा परी तीन जनाको ज्यान गएपछि मधेशी मोर्चाले हिजो र आज बन्दको आव्हान गरेका छन् । मंगलबार बसेको संयुक्त लोकतान्त्रिक मोर्चाको बैठकले सप्तरी घटनाको दोषीलाई कारबाही गर्न माग गर्दै सात दिनभित्र संविधान संशोधन नगरे सरकारबाट मोर्चाको समर्थन फिर्ता लिने निर्णयसमेत गरिसकेको छ ।

तमलोपा अध्यक्ष महन्थ ठाकुरसँग मंगलबार भएको टेलिफोन वार्ता सकारात्मक भएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने अन्तिम तयारीमा रहेको मोर्चा लचक बनेपछि प्रधानमन्त्री दाहालले थप छलफल गर्न लागेका हुन् ।

बैठकमा उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिसहित केही मन्त्री, कांग्रेस र माओवादी केन्द्रका नेतासमेत सहभागी हुनेछन् । सप्तरी घटनाबारे समिक्षा गर्न दिउँसो मन्त्रिपरिषद् बैठक बस्ने भएपछि सो बारे आवश्यक निर्णय गर्नुअघि प्रधानमन्त्री दाहालले मधेशी मोर्चाको धारणा बुझ्न लागेका हुन् ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....